काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका पुत्र जयवीरसिंह देउवाको जाहेरीमा थुनिएका राप्रपाका नेता सुजित केसी रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

केसीले देउवापुत्रले हिल्टन होटल खरिद गरेको स्टाटस लेखेपछि उनीविरुद्ध जाहेरी परेको थियो । बुधबार भएको थुनछेक बहसमा न्यायाधीस विष्णुप्रसाद अवस्थितको इजलासले उनलाई धरौटीमा छोड्ने आदेश गरेको हो ।
केसीको तर्फबाट नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ठा घिमिरे, वरिष्ठ अधिवक्ता राजु बस्नेत, नेपाल बारका महासचिव केदार कोइराला लगायतले बहस गरेका थिए ।
यस्तै, देउवापुत्र जयवीरले केसीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा निवेदन र किटानी जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबारअन्तर्गत अभियोगपत्र दर्ता गरेको थियो । सोही आधारमा केसीलाई प्रहरीले पक्राउ गरी म्याद थपेर हिरासतमा राखेको थियो ।
केसीका परिवारले बन्दीप्रत्यक्षीकरण निवेदन दिएपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरिदिएको थियो । थुनामुक्त हुनुअघि केसीले ६ दिन काठमाडौं प्रहरी परिसरको हिरासतमा बिताएका थिए ।
केसीमाथिको अभियोगपत्रमा मनासिब क्षतिपूर्ति पनि जयवीरलाई भराउनुपर्ने मागदावी गरिएको छ । साथै, पीडीत राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउनुपर्ने पनि अभियोगपत्रमा उल्लेख छ ।