काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । यसअघि सडक डिभिजन कार्यालय भरतपुरले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सूचना जारी गरेको थियो ।

तर, ढुङ्गा हटाउने कार्य नसकिएकाले समय थप गरेर दिउँसो ३ बजेसम्म पुर्याइएको कार्यालयले जनाएको छ ।
सूचना अनुसार, तुइन खोला पुल नजिकै पहिरोको जोखिम रहेको छ, जहाँ माथिबाट ढुङ्गा झर्ने र दुर्घटना हुने सम्भावना छ । सम्भावित दुर्घटना रोक्न डिभिजन कार्यालयले लङ बुम एक्साभेटर प्रयोग गरी ढुङ्गा हटाउने कार्य गरिरहेको छ ।
कार्यालयले उक्त अवधिमा सवारीसाधन रोकेर लेन अनुशासन कायम गर्न सबैमा अनुरोध गरेको छ ।