Logo
Logo

रानीमहललाई पुरानै स्वरूपमा पुनर्स्थापना गरी संरक्षण गरिने


819
Shares

काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै स्वरूपमा पुनर्स्थापना गरी संरक्षण गर्ने निर्णय भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पाका जनप्रतिनिधि, पुरातत्त्व विभागका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, इन्जिनियरलगायतको बैठकले रानीमहलको ऐतिहासिक स्वरूप कायम राख्दै संरक्षणका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रानीमहललाई दुर्लभ र महत्त्वपूर्ण सम्पदाको रूपमा उल्लेख गर्दै यसको पुरानो शैली र संरचनासँग सम्बन्धित सामग्री सङ्कलन गरी अध्ययन गर्न, गुरुयोजना तयार गर्न र कार्यान्वयन विधि बनाउन पुरातत्त्व विभागलाई निर्देशन समेत दिएका छन् । उनले ऐतिहासिक एवम् पुरातात्विक महत्त्वलाई प्राथमिकता दिँदै कालीगण्डकी नदीको कटान र पहिरो व्यवस्थापनलगायत निर्माण कार्य अघि बढाउन जोड दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले रानीमहल र आसपासका क्षेत्रलाई दीर्घकालीन योजनासहित व्यवस्थित रूपमा संरक्षण गर्नुपर्ने बताए । प्रतिनिधिसभा सांसद ठाकुर गैरेले कालीगण्डकी नदीको कटानबाट रानीमहलको जग जोगाउन विशेष ध्यान दिनुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले रानीमहल संरक्षणका लागि सबै पक्षसँग समन्वय गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले रानीमहलको ऐतिहासिक र पुरातात्विक महत्त्व जोगाउँदै पुनर्निर्माण गर्न सकिने बताए । 

कालीगण्डकी करिडोरकी परियोजना प्रबन्धक कल्पना अधिकारीले प्रारम्भिक अध्ययनले रानीमहलको रेट्रोफिटिङ, नदी कटान नियन्त्रण, पहिरो व्यवस्थापन, पुल निर्माण र पार्किङ क्षेत्र व्यवस्थित गर्नुपर्ने देखाएको जानकारी दिइन् । राणाकालमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको सम्झनामा रानीमहल निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्