Logo
Logo

एमालेमाथि रास्वपादेखि बालेनसम्मले आक्रमण गरिरहेको छन् : शङ्कर पोखरेल


630
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीलाई चारवटा शक्तिहरूले आक्रमण गरिरहेको दाबी गरेका छन् । उनले एमालेले राष्ट्रहित र जनताका मुद्दालाई सशक्त रूपमा उठाउँदा यस्ता आक्रमणहरू भए पनि तिनको स्वार्थ पूरा हुन नदिन एमालेले कडा प्रतिवाद गर्नुपर्ने बताए ।

The current image has no alternative text. The file name is: sankar-pokharel.gif

काठमाडौं जिल्ला कमिटीको छैटौँ बैठकलाई टोखामा सम्बोधन गर्दै पोखरेलले एमालेमाथि राजावादी, माओवादी, समाजवादी र पपुलिस्ट राजनीति गर्नेहरू तथा बाह्य शक्तिहरूले आक्रमण गरिरहेको बताए । 

‘मुख्य रूपमा चार शक्तिहरूले एमालेमाथि साइबर आक्रमण गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले एमालेलाई कमजोर बनाउन खोजिरहेका छन्,’ पोखरेलले भने, ‘राजावादी, माओवादी, समाजवादी, पपुलिस्ट र बाह्य शक्तिहरूले एमाले कमजोर हुँदा आफ्नो स्वार्थ पूरा हुने ठानेर हामीलाई निशाना बनाएका छन् ।’

उनले एमालेको उपस्थितिले राजावादी आन्दोलनलाई असफल बनाएको दाबी गरे । ‘एमाले नभएको भए राजालाई नारायणहिटीमा श्रीपेच लगाइदिने बाटो खुल्थ्यो,’ उनले भने, ‘जेठ १५ देखि राजावादीको अनिश्चितकालीन आन्दोलन असफल भएको छ । त्यसैले उनीहरू एमालेविरुद्ध खनिएका छन् । हामी सही बाटोमा छौँ भन्ने कुरा उनीहरूको विरोधले पुष्टि गर्छ ।’

पोखरेलले माओवादी र समाजवादीहरूले पनि एमालेलाई कमजोर बनाउन खोजेको बताए । ‘एमालेलाई कमजोर नपारी उनीहरूले आफ्नो प्रभाव बढाउन सक्दैनन् भन्ने ठानेर कम्युनिस्ट नामधारीहरू साइबर आक्रमणमा उत्रिएका छन्,’ उनले भने, “उनीहरू बाह्य शक्तिका मतियार हुन् । एमाले र कांग्रेसको सत्ता सहकार्यले उनीहरूको सौदाबाजीको अवसर घटेपछि उनीहरू हाम्रोविरुद्ध लागेका छन्। हामीले यस्ता आक्रमणको डटेर सामना गर्नुपर्छ ।’

पोखरेलले तेस्रो शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहजस्ता पपुलिस्टहरूलाई औँल्याए । ‘पपुलिजमको नाउँमा जनतालाई भ्रममा पारेर उनीहरूले एमालेलाई आक्रमण गरिरहेका छन्,’ उनले भने, ‘किनभने गलत नीतिहरूको भण्डाफोर गर्न सक्ने शक्ति एमाले हो भन्ने उनीहरूले बुझेका छन् ।’

चौथो, बाह्य शक्तिहरूले पनि एमालेलाई कमजोर बनाउन खोजेको उनको आरोप छ । ‘नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा समेट्ने काम र राष्ट्रिय स्वाभिमानको प्रदर्शन एमालेले गरेको छ,’उनले भने, ‘एमाले कमजोर भएको भए देशलाई कठपुतली बनाउन सकिन्थ्यो। हाम्रो बलियो उपस्थितिले त्यो स्वार्थ पूरा हुन दिएको छैन ।’

पोखरेलले एमालेका प्रमुख नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण बढेको भन्दै सबै कार्यकर्तालाई त्यसको प्रतिवाद गर्न निर्देशन दिए । ‘आज एउटा नेतालाई आक्रमण गर्नेहरूले भोलि अरूलाई पनि निशाना बनाउँछन्। त्यसैले यस्ता शक्तिहरूलाई अहिल्यै परास्त गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्