काठमाडौं । माननीय गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपालले सीमित स्रोतसाधनका बाबजुद उत्कृष्ट कार्यसम्पादन गरेको बताएका छन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित ‘वरिष्ठ अधिकृत सम्मेलन–२०८२’ को समापन समारोहमा बोल्दै उनले सङ्गठनको परिचालनलाई थप प्रभावकारी बनाउन यो सम्मेलन महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणजस्ता संवेदनशील जिम्मेवारीमा उत्कृष्ट योगदान पु¥याएको बताए ।

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलप्रति आम नागरिकको विश्वास बढेको उदाहरणस्वरूप विभिन्न ठाउँमा युनिट स्थापनाको माग आएको बताए । सीमित स्रोतसाधनका बावजुद सङ्गठनको कार्यसम्पादन प्रशंसनीय रहेको उल्लेख गर्दै उनले सङ्गठन सुधार र आधारभूत आवश्यकता व्यवस्थापनका लागि गृह मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। मनसुन सुरु भइसकेकाले विपद् व्यवस्थापनमा तयारी अवस्थामा रहन र जोखिम मूल्याङ्कन गरी कार्य गर्न सबै बाहिनीपतिहरूलाई निर्देशन दिनुभयो। साथै, सुरक्षा निकायका आवश्यकता पूरा गर्न मन्त्रालयले स्रोतसाधन उपलब्धतालाई प्राथमिकतामा राखेको उनले बताए ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले सम्मेलनमा उठेका विषयमा मन्त्रालयले समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सशस्त्र प्रहरी बलप्रति मन्त्रालयको पूर्ण भरोसा रहेको र थप प्रभावकारी कार्यसम्पादनको अपेक्षा गरिएको उनले बताए ।
विपद् व्यवस्थापनमा उपकरण र सामूहिक साझेदारीको महत्वमा जोड दिँदै सङ्गठनको विकासका लागि मन्त्रालयको साथ र समन्वय रहने उनले आश्वासन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मेलन नतिजामुखी भएको र समसामयिक विषयमा छलफल भएको बताए । सङ्गठनले राज्यको जिम्मेवारी पूरा गर्न, नागरिक सुरक्षा र विपद् उद्धारमा थप प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले राजस्व सङ्कलनमा कडाइ गर्न मातहतलाई निर्देशन दिए । पूर्वी नवलपरासीमा हालै मध्यरातमा गरिएको उद्धार कार्यमा खटिएका नं. ३१ गुल्मका सुरक्षाकर्मीलाई आन्तरिक रूपमा पुरस्कृत गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा गृह मन्त्रालयका सह–सचिव आनन्द काफ्लेले राजस्व चुहावट नियन्त्रण, भौतिक पूर्वाधार निर्माण र स्रोतसाधन व्यवस्थापनबारे जानकारी गराए । असार ११ र १२ गते आयोजित सम्मेलनमा सीमा सुरक्षा र विपद् व्यवस्थापनलगायत विषयमा भौतिक र भर्चुअल माध्यमबाट छलफल भएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सह–सचिवहरू रामचन्द्र तिवारी र छवि रिजाल, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरू तथा प्रदेशस्थित बाहिनी मुख्यालयका वरिष्ठ अधिकृतहरूको भर्चुअल उपस्थिति रहेको थियो ।