Logo
Logo

संस्कृत विश्वकै सम्पत्ति हो ; राष्ट्रपति


441
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै साझा सम्पत्ति बनेको बताएका छन् । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उनले संस्कृत भाषा, साहित्य र संस्कृतिको प्रभाव दक्षिण एसियाबाट छिचोल्दै विश्वव्यापी भएको उल्लेख गरे ।

The current image has no alternative text. The file name is: rastpati-2.gif

‘कम्प्युटर र कृत्रिम बुद्धिमत्ताको प्रयोगले संस्कृतको भविष्य उज्ज्वल छ। आजको अशान्त विश्वले संस्कृत वाङ्मयबाट शान्ति र आशाको सन्देश खोजिरहेको छ,’ उनले भने । उपनिषद्को ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धन–सम्पत्तिमा लोभ नगर’ भन्ने श्लोक उद्धृत गर्दै उनले यो सम्मेलनले युद्ध र त्रासमा अल्झिएको विश्वलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश दिनुपर्ने बताए । ‘धर्ती, मानव र सभ्यताको संरक्षण, सुख र सन्तोष युद्धबाट होइन, शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव छ,’ उनले जोड दिए ।

राष्ट्रपति पौडेलले नेपालले संस्कृतको संरक्षण र विकासमा काम गरिरहेको भए पनि त्यो अपर्याप्त रहेको र थप सहकार्य आवश्यक रहेको बताए । उनले संस्कृतको चरम विकासको समयमा केही ठालुहरूले यसलाई दलित र अन्य वर्गले बोल्न र पढ्न नहुने भनी सीमित गरेको इतिहास स्मरण गर्दै अब संस्कृतलाई जनबोलीको भाषा बनाउनुपर्नेमा जोड दिए ।

नेपाल प्राचीनकालदेखि ऋषि–महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि र साधनाभूमि रहेको उल्लेख गर्दै उनले महर्षि याज्ञवल्क्यले यही भूमिमा शुक्ल यजुर्वेदका मन्त्रहरूको दर्शन गरेको, वाल्मीकि र वेदव्यासको जन्म यही भएको बताए । साथै, राजर्षि जनक, बुद्ध, पाणिनि र बाबा गोरक्षनाथजस्ता महान् व्यक्तित्वहरूले नेपाललाई शान्ति र ज्ञानको सन्देशले सुगन्धित बनाएको उनले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्