काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरूको नियमित निरीक्षणको सिलसिलामा आज सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधानन्यायाधीश राउत नेतृत्वको निरीक्षण भ्रमण टोलीलाई जङ्गी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए । उक्त टोलीले निरीक्षण भ्रमणका क्रममा जङ्गी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिका सम्बन्धमा जानकारी लिएको थियो । सो क्रममा प्रधानन्यायधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीहरूलाई विशेष निर्देशनसमेत दिए ।
भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।