
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाईसीएल)का एक नेता बलात्कार अभियोगमा पक्राउ परेका छन् । गएराति वाईसीएल रूकुम पश्चिमको चौरजहारी नगरपालिका इन्चार्ज तथा कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका रेशम खत्री पक्राउ परेका हुन् ।
जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीका आधारमा सानीभेरी गाउँपालिकाको एक होटेलबाट खत्रीलाई पक्राउ गरिएको रूकुम पश्चिम प्रहरी प्रमुख प्रमेश विष्टले जानकारी दिए । उनका अनुसार किशोरीले दुई महिना पहिले खत्रीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
ती किशोरीले रेशमले ०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत जाहेरीमा उल्लेख गरेकी छन् । पहिले विभिन्न आश्वासन दिएर किशोरीलाई उजुरी दिनबाट रोकेपनि आश्वासन पूरा नगरेपछि खत्रीविरुद्ध उजुरी परेको थियो ।