काठमाडौं । नेपाली कांग्रेसले सानेपामा रहेको केन्द्रीय कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किन्ने सम्झौता गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रवार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय भएको जानकारी दिए ।

‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ, ‘विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको उक्त जग्गा र घर १३ करोडमा खरिद गर्ने निर्णय गरेको हो । खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा,विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको कांग्रेसले जनाएको छ ।