Logo
Logo

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ


- दृष्टि न्युज/संवाददाता


पोखरा, ३० साउन । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोरखा पालुङटार–६ घर भई हाल पोखरा महानगरपालिका–९ बस्ने कृष्णबहादुर नेपालीको छोरा २५ वर्षीय सुरेश नेपालीलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

गोरखा जिल्ला अदालतको विसं २०७२ मङ्सिर १० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद हुने ठहरेकोमा सो फैसलाउपर उच्च अदालत पोखरामा पुनरावेदन गरी उच्च अदालत पोखराको विसं २०७३ पुस ३ गतेको फैसलाले समेत सोही सजाय सदर गरेको थियो ।

प्रतिवादीले एक महिना ११ दिन प्रहरी तथा न्यायिक हिरासतमा रही बाँकी चार वर्ष १० महिना १९ दिन कैद बाँकी रहेकोमा पोखरा–९ बाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा बाँकी कैद भुक्तानको लागि अदालतले कारागार कार्यालयमा पठाएको प्रनाउ हमालले जानकारी दिए ।

नगद रु एक लाखसहित १७ जुवाडे पक्राउ

प्रहरीले पोखरा महानगरपालिका–१० मिलनटोलबाट जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिएको छ । मिलनटोल बस्ने ५० वर्षीया ज्ञानु हमालको डेराकोठामा अवैधरुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय रामबजार खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खेलीरहेको अवस्थामा फेलापारि खानतलासी गर्दा रु एक लाख दुई हजार ४९० र २२४ पत्ती तास फेला प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए । पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट बिहीबार सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्