Logo
Logo

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम


693
Shares

काबुल । अफगान शरणार्थीहरू ठुलो सङ्ख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो देश फर्किन थालेपछि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त कार्यालय (युएनएचसीआर) ले गहिरो चिन्ता व्यक्त गरेको छ। यसरी ठुलो सङ्ख्यामा शरणार्थीहरू एकैचोटि फिर्ता भएपछि अफगानिस्तानको पहिले नै संवेदनशील रहेको स्थायित्वमा थप असर पर्न सक्ने चेतावनी दिइएको हो ।

The current image has no alternative text. The file name is: afganstan.gif

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को मार्च २० बाट लागू भएको फिर्ता सम्बन्धी समयसीमापछि हालसम्म ६ लाख ४० हजारभन्दा बढी अफगान नागरिकहरू इरानबाट फर्किएका छन् । इरान र पाकिस्तान दुबैबाट हालसम्म १२ लाखभन्दा बढी अफगानहरू स्वदेश फर्किएको युएनएचसीआरको प्रतिवेदनमा उल्लेख छ।

युएनएचसीआरका अफगानिस्तानस्थित प्रतिनिधि  आराफत जमालले भने,’हामीले तुरुन्तै सहयोग पुर्‍याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय समुदायलाई हामी आग्रह गर्न चाहन्छौँ कि उनीहरूले आपतकालीन सहायता मात्र होइन, दीर्घकालीन पुनःस्थापनाका कार्यक्रमहरूमा पनि सहयोग पुर्‍याऊन् । यदि शरणार्थीहरूलाई समाजमा सम्मानजनक र स्थायीरूपमा पुनःस्थापित गर्न सकिएन भने अस्थिरता र पुनः विस्थापनको चक्र निरन्तर दोहोरिन सक्छ ।’

संयुक्त राष्ट्रसङ्घले पुनः आग्रह गर्दै  शरणार्थीको फिर्ता स्वेच्छिक, सुरक्षित र मर्यादापूर्ण हुनुपर्ने भनेको छ। कुनै पनि प्रकारको दबाब वा जबरजस्ती फिर्ताले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्न सक्दैन, बरु समग्र क्षेत्रमा अस्थिरता निम्त्याउन सक्छ ।

युएनएचसीआरको अनुमानअनुसार हालसम्म पनि करिब ७० लाख अफगान शरणार्थी विदेशमा बसोबास गरिरहेका छन्, तीमध्ये धेरैजसो इरान र पाकिस्तानमा छन्। तीमध्ये अधिकांशले कुनै पनि कानुनी कागजात नपाएका कारण उनीहरूको अवस्था झनै संवेदनशील रहेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले समग्र अन्तर्राष्ट्रिय समुदाय, छिमेकी राष्ट्र र सहयोगी संस्थाहरूलाई अपिल गर्दै शरणार्थीहरूको सुरक्षित पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्