काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीमा परी ५१ जनाको मृत्यु भएको छ । जसमध्ये १५ बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । टेक्सास प्रशासनले राहत र उद्धार कार्यका लागि ठुलो सङ्ख्यामा उद्धारकर्मीहरू खटाएको छ ।

टेक्सासको केर काउन्टी बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीमा यस क्षेत्रमा ४३ जनाको मृत्यु भएको छ र ग्वाडालुप नदीको किनारमा अवस्थित क्रिश्चियन युवा शिविरबाट २७ बालिका बेपत्ता रहेका छन् ।
लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले बीबीसीलाई जनाएअनुसार बेपत्तामध्ये धेरै १२ वर्ष मुनिका छन् । केर काउन्टीका शेरिफ ल्यारी एल।लेथाले उनीहरूको खोजी कार्य जारी रहेको बताएका छन्। अहिलेसम्म ८५० जनालाई उद्धार गरिएको छ ।
ट्राभिस काउन्टी र टम ग्रीन काउन्टीलगायत राज्यका अन्य भागहरूमा पनि मृत्यु हुनेको पुष्टि भएको छ । यस साताभारी धेरै ठाउँहरूमा बाढीको चेतावनी जारी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले यस आपत्कालीन अवस्थाको सामना गर्न स्थानीय अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको बताएका छन् । मौसम विभागले यस क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको बताएको छ। जसका कारण बाढीको सम्भावना पनि छ ।