काठमाडौं । विश्व बैङ्कले अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसिया समूहबाट हटाएर मध्यपूर्व, उत्तरी अफ्रिकाको समूहमा समावेश गरेको छ । भारत र पाकिस्तानबीचको तनावका कारण भारतले विश्व बैङ्कमाथि पाकिस्तानलाई दिइने ऋण रोक्न दबाब दिएको र त्यसैको परिणामस्वरूप यो निर्णय भएको भारतीय सञ्चारमाध्यम एचटी मिन्टले स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

विश्व बैङ्कले भने यसको कारणबारे औपचारिक रूपमा केही उल्लेख गरेको छैन । यसअघि दक्षिण एसिया क्षेत्रमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी ८ देश थिए । अब यो क्षेत्रमा ६ देश मात्र रहनेछन् । नयाँ समूहमा अफगानिस्तान र पाकिस्तानलाई अल्जेरिया, बहराइन, इजिप्ट, इरान, इराक, जोर्डन, साउदी अरेबिया, यूएईलगायतका देशहरूसँग राखिएको छ ।
विश्व बैङ्कका अनुसार, यो क्षेत्रले अस्थिरता, द्वन्द्व, खाद्य सुरक्षा, जलवायु परिवर्तन, रोजगारी, डिजिटल रूपान्तरण र समावेशीकरणजस्ता चुनौतीहरू सामना गरिरहेको छ । विश्व बैङ्कले आफ्नो कार्यसञ्चालन, ऋण प्रवाह र तथ्याङ्क विश्लेषणका लागि देशहरूलाई विभिन्न समूहमा वर्गीकरण गर्छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि पाकिस्तान र अफगानिस्तानलाई मध्यपूर्व र मध्य एसिया समूहमा राख्छ, भने बाँकी दक्षिण एसियाली देशहरूलाई एसिया९प्यासिफिक समूहमा समावेश गर्छ । त्यस्तै, एसियाली विकास बैङ्कले पनि अफगानिस्तान र पाकिस्तानलाई मध्य तथा पश्चिम एसिया समूहमा राखेको छ । विश्व बैङ्कको दक्षिण एसिया क्षेत्रको उपाध्यक्षमा जोहान्स जुट नियुक्त भएको विज्ञप्तिमा पनि पाकिस्तान र अफगानिस्तानको नाम उल्लेख थिएन ।
यस निर्णयले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को सान्दर्भिकतामाथि पनि प्रश्न उठाएको छ, जुन वर्षौंदेखि निष्क्रिय छ । भारतले सार्कको उपयोगिता समाप्त भएको घोषणा गरिसकेको छ, र नेपालको अध्यक्षतामा रहेको यो सङ्गठनको शिखर सम्मेलन लामो समयदेखि हुन सकेको छैन ।