
काठमाडौं । रसुवामा भोटेकोसीको बाढीमा एकै जिल्ला बर्दियाका ५ जना श्रमिक बेपत्ता भएका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले मंगलबार बिहान करिब ३ बजेतिर एक्कासी आएको बाढीमा परि बेपत्ता १८ जनामध्ये ५ जना बर्दियाका परेको जानकारी दिए ।
उनका अनुसार बाढीले भन्सार यार्डमा काम गर्नेमध्ये ९ जना नेपालीलाई बगाएको हो । जसमा बर्दिया ठेगाना भएका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम राम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु र ३० वर्षीय सुरेश थारु छन् ।
बाँकी ४ नेपालीमा बागलुङ घर भई वर्ष नखुलेका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा, ठेगाना र वर्ष नखुलेका मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् ।
बाढीमा उनीहरूसँगै ६ चिनियाँ पुरुष पनि बाढीमा बगेका छन् । प्रहरीका अनुसार भोटेकोसीको बाढीपछि चिनियाँ नागरिकहरू यु युए, ली हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई र जोउ योङ बेपत्ता छन्।
यसैगरी उद्धारमा खटिका तीन प्रहरीलाई पनि बाढीले बगाएको छ । जसमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहोरा रहेका छन् । उनीहरू सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














