काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओल्सँगै स्पेन भ्रमणमा गएका केही मानिसहरु ‘फर्किएनन्’ भनेर आफूले नभनेको प्रष्टीकरण दिएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर सुन्न भन्दै भनिन्, ‘उहाँहरूको नेपाली भाषा बुझाइमा समस्या भएकै कारणले मेरो भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ । चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन, जसको समस्या हो उसैको उपचार गरियोस् । मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु ।
उनले उक्त कुरा सत्य भएको बताउँदै भनिन्, ‘प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकिएर नेपाल फर्किनुभयो । तर, यो पनि सत्य हो, प्रधानमन्त्री जानुभएको कार्यक्रममा गएका सबै नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् । उतै बसेका छन् ।’ उनले भिजिट भिसा प्रकरणमा आफूहरूले आन्दोलन जारी राखेको बताइन् ।














