काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता छन् । बुधवार दिउँसो खसेको पहिरोमा परेर मालिका–३, लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले बताए ।

पहिरोमा उनका १३ वर्षीय छोरा सरोज विक बेपत्ता छन् । प्रहरीका अनुसार दिउँसो १२ बजेको आसपासमा बाबुछोरा घरनजिकैको पाखोबारीमा घाँसदाउरा गर्न गएका बेला पहिरोमा परेका थिए ।
सोही पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ बगाउँदा एक हल गोरु पनि बगाएको छ । बेपत्ता बालकको खोजीका लागि प्रहरी टोली घटनास्थल पुगेको छ । यस्तै, बुधवार नै म्याग्दीको धौलागिरिमा पहिरो खस्दा म्याग्दी नदी करिब १० मिनेट थुनिएको थियो ।
प्रहरी निरीक्षक पौडेलका अनुसार मङ्गलवार राति १० बजेदेखिको अविरल वर्षाले पहिरो गएको हो। मनसुन सक्रिय भएसँगै म्याग्दीमा बाढीपहिरोका घटना बढेका छन्
।














