काठमाडौं । पछिल्लो समय सानिमा बैंकको ‘पफर्मेन्स’ खस्किन थालेको छ । विगतमा राम्रो र बलियो बैंकको रुपमा परिचित यस बैंक अहिले भने अन्य बैंकहरूभन्दा कमजोर देखिन थालेको छ । चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठसम्म)सम्ममा यस बैंकले जम्मा ३.१३ प्रतिशतले नाफा बढाउन सकेको छ । अन्य बैंकहरूले दोहोरो अंकमा नाफा बढाउँदा सानिमाको भने ३ प्रतिशतमै सीमित भएको हो । यसले बैंकको वित्तीय स्वास्थ्यमा समस्या आइरहेको र नाफा बढाउन नसकेको स्पष्ट देखाएको छ ।

यसै कारण बैंकप्रति ग्राहकहरुको विश्वास पनि खस्कँदै जान थालेको छ । सानिमा बैंकलाई अहिले प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले नेतृत्व गरिरहेका छन् । तर, विगतको तुलनामा उनको नेतृत्व कमजोर देखिन्छ । ‘पहिलेको सिईओ र अहिलेको सिईओको कार्यक्षमता नै आकाश पताल फरक छ । अहिले त एड्जस्टमेन्ट मात्रै भइरहेको जस्तो लाग्छ,’ बैंकका एक उच्च पदस्थ कर्मचारीले दृष्टिसँग भने ।
सानिमा बैंकको ओरालो यात्रा बैंकका सूचकहरूले समेत देखाएको छ । चालु आवको ११ महिनामा बैंकको नाफा २ अर्ब ३१ करोड रुपैयाँ कमाएको छ ।
गत आर्थिक वर्ष २०७९÷८० मा यस बैंकको खराब कर्जा ह्वात्तै बढ्न पुगेको छ । मनलाग्दी ऋण दिएको यस बैंकले ऋण असुली गर्न सकेको छैन । जसले गर्दा बैंकको निष्क्रिय कर्जाको थुप्रो लागेको हो ।
आव २०८०÷८१ को तेस्रो त्रैमासमा १.८९ प्रतिशत रहेको यस बैंकको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा ३.४२ प्रतिशत पुगेको छ । यो अवस्था झनै उकालो लाग्दै गएको बैंकरहरू बताउँछन् । अघिल्लो आवमा बैंकको खराब ऋण कुल कर्जाको ०.३३ प्रतिशत मात्रै रहेको थियो । गत आवमा दोब्बरले बढ्दै १.३३ प्रतिशत खराब कर्जा थुप्रिएको थियो ।
खराब कर्जा बढ्दा बैंकको प्रोभिजन रकम पनि ह्वात्तै बढेको छ । जसले गर्दा बैंकको नाफा प्रभावित बन्दै गइरहेको छ । बैंकले अपेक्षित गतिमा कर्जा लगानी गर्न सकेको छैन ।
गैर आवासीय नेपालीहरूसमेतको लगानीमा स्थापना भएको बैंक हो सानिमा बैंक । वि.सं. २०६८ मा विकास बैंकबाट सानिमा बैंकको वाणिज्य बैंकमा स्तरोन्नती भएको थियो । डा. युवराज खतिवडा गभर्नर रहेका समयमा वाणिज्य बंैक बनेको सानिमा बैंक अहिले कमजोर बन्दै गएको हो । वाणिज्य बैंक बनेदेखि नै जनमानसमा राम्रो छवि बनाउँदै अघि बढेको यस बैंक पछिल्लो समय भने कमजोर व्यवस्थापनका कारण खस्किएको छ ।
सानिमा बैंक बेलाबेलामा राष्ट्र बैंकको कारबाहीमा समेत पर्दै आइरहेको छ । कहिले बाफियाको गम्भीर उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ भने, कहिले सिइओलाई आफूखुसी नियमभन्दा बढी सुविधा दिएको भन्दै कारबाहीमा समेत परेको छ । आफ्नो नेतृत्वमा रहेको बैंकको पफर्मेन्स सुधार्न सिईओ पाण्डेले ध्यान नदिएको कर्मचारीहरू गुनासो गर्छन् ।
बैंकको सीईओको रुपमा भुवन दाहालले कार्यभार सम्हाल्दा बैंकका सूचकहरू ठिकै थिए । नेपाल राष्ट्र बैंकका नेतृत्वसँगको उठबस तथा हिमचिमका कारण बैंक जोगिएको थियो । यद्यपी भित्र पूरै खोक्रो बन्ने तरखरमै थियो । तर अहिलेका सीईओ पाण्डेले बैंकलाई राम्रोसँग सञ्चालन गर्न नसकेको गुनासो बैंकका कर्मचारीहरूले बताउँदै आइरहेका छन् ।
यस बैंकले पछिल्लो समय आशातित प्रगति गर्न नसक्दा बैंकको लगानी खेर जाने हो कि भन्ने चिन्ता थपिएको जानकारहरू बताउँछन् ।
सानिमा बैंक बेलाबेलामा राष्ट्र बैंकको कारबाहीमा समेत पर्दै आइरहेको छ । कहिले बाफियाको गम्भीर उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ भने, कहिले सिइओलाई आफूखुसी नियमभन्दा बढी सुविधा दिएको भन्दै कारबाहीमा समेत परेको छ । आफ्नो नेतृत्वमा रहेको बैंकको पफर्मेन्स सुधार्न सिईओ पाण्डेले ध्यान नदिएको कर्मचारीहरू गुनासो गर्छन् ।
२०७८ पुस ६ मा सिईओ बनेका पाण्डेले माघ २२ गतेदेखि कार्यभार सम्हालेका थिए । उनको चार वर्षे कार्यकाल यही वर्ष सकिँदै छ । बैंकका कर्मचारीहरू उनको कार्यकालमा खास प्रगति हुन नसकेको र सन्तोषजनक समेत नरहेको भन्दै असन्तुष्ट बन्न थालेका छन् । उनीहरूको उनको कामको समीक्षा समेत गर्दै आएको बताउन थालेका छन् ।











