
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट बर्खास्त गरेपछि उक्त निर्णय पार्टीको विधानविपरीत भएको भन्दै गिरीले आज आयोगको कार्यालय पुगेर उजुरी दिएका हुन् । उनलाई पार्टीको संस्थापनइतर समूह र कर्णाली प्रदेशका नेताहरुको साथ छ ।
आजै राप्रपाको कर्णाली प्रदेशका नेताहरुले उनलाई हटाउने निर्णयप्रति असहमति जनाउँदै विज्ञप्ति समेत जारी गरेका छन् ।
निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती शाहीलगायत संस्थापन इतर पक्षका नेताहरू उपस्थित भएका छन् ।














