Logo
Logo

भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिने


441
Shares

नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् ।  आज नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा देउराली प्राथमिक अस्पतालको उद्घाटन गर्दै उनले दुई किस्तामा गरेर बिमाबापतको बाँकी भुक्तानी पूरा गरिने बताएका हुन् ।

यसरी प्राप्त हुने रकम स्वास्थ्य सेवा विस्तारमा लगानी गर्न आग्रह गर्दै स्वास्थ्यमन्त्री पौडेलले भने,’बिमाबापत अस्पतालहरूले प्राप्त गर्ने रकम केही प्रतिशत स्वास्थ्य सेवा विस्तारमा खर्च गर्न म अनुरोध गर्न चाहन्छु । अब प्राप्त हुने बिमाबापतको रकममध्ये ३०–४० प्रतिशत भए पनि स्वास्थ्य सेवा विस्तारमा खर्च गर्न सके राम्रो हुनेछ ।’

पछिल्लो समय सरकारी अस्पतालमा नागरिकको विश्वास बढेकाले उपचारका लागि आकर्षण बढेको मन्त्री पौडेलले बताए । सीमित  साधनस्रोतले सबै बिरामीको चाप थेग्न नसक्ने हुँदा अब सबै पालिकामा प्राथमिकस्तरको अस्पताललाई सेवासुविधायुक्त बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।  

साउन १ गतेदेखि देशभरका ४८ वटा अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको जानकारी दिँदै मन्त्री पौडेलले स्थानीय सरकारको नेतृत्वमा सञ्चालन हुने ती अस्पतालमा प्रदेश र सङ्घ सरकारले स्रोतसाधन उपलब्ध गराउने बताए । उनले विभिन्न जटिल रोगहरूको उपचारमा नागरिकलाई सहुलियत प्रदान गर्न राज्यले एकमुष्ट रकम छुटको सुविधा प्रदान गरेको बताए ।

‘स्वास्थ्य सेवामा सुधार गर्न सकिएन भने देशमा गणतन्त्र आएको नागरिकले अनुभूति गर्ने छैनन्’,उनले भने, ‘सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराई न्यूनतम लागतमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’

हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा रहेको पाँच शय्याको देउराली प्राथमिक अस्पतालबाट आजदेखि नै सेवा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्