काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक अहिले जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत हुनेछ ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्दैछन् ।
आजको बैठकमा प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेट आफ्ना धारणा राख्न समय उपलब्ध गराइने एमालेले जनाएको छ ।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र आजको बैठकमा बोल्नेछन् । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् ।
बैठक आज र भोलिमा सक्ने भनिएको छ । तर, सबै केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्न समय लिएमा पर्सीसम्म लम्बिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।














