काठमाडौँ । सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएको अभियोगमा सजाय तोकिएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनी इटहरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो ‘फेक’ भएको पुष्टि भएको थियो । उनलाई सर्वोच्च अदालतले दोषी ठहर गर्दै गत असोजमा ६ महिना सजाय तोकेको थियो । उनी त्यसयता फरार रहेका थिए ।
अदालतले दुई पत्रकारलाई सर्तसहित ३ महिनाको कैद सजाय सुनाएको थियो भने तिमल्सिनालाई सर्त विना ६ महिना सुनाइएको थियो।
सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले तिमल्सिनालाई फेक अडियो बनाएको ठहर गर्दै माफी माग्ने अवसर पनि दिएको थिएन। रकम तिरेर कैदबाहिर बस्ने सुविधा पनि उनले नपाउने गरी सर्वोच्चले असोज १३ गते फैसला सुनाएको थियो।














