काभ्रेपलाञ्चोक । विवाह गर्न अस्वीकार गरेपछि एक युवती आफ्नै प्रेमीको हातबाट ज्यान गुमाउनुपरेको छ । रामेछापका ३७ वर्षीय सन्तोष सुनारले आफ्नी प्रेमिका ३३ वर्षीया शर्मिला उप्रेतीको हत्या गरेका हुन् ।
३२ असारमा बनेपा नगरपालिका–१३ स्थित भगवान थुम्की सामुदायिक वनमा शर्मिलाको हत्या भएको प्रहरीले जनाएको छ । सन्तोषले प्रेमिकाले विवाह अस्वीकार गरेपछि रिसमा हत्या गरेको प्रारम्भिक बयानमा बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मीनबहादुर घलेका अनुसार, सन्तोषले ‘घुम्न जाऊँ’ भन्दै जंगल लगेपछि पहिले मन्दिरमा गाडिएको लठ्ठीले टाउकोमा प्रहार गरेका थिए। त्यसपछि कुर्ताको सलले घाँटी बाँधी हत्या गरेका थिए ।
शर्मिलाको शव आइतबार दिउँसो सोही जंगलमा कोल्टो अवस्थामा फेला परेको थियो । घटनाको अनुसन्धानका लागि डीएसपी रामेश्वर त्वातीको नेतृत्वमा १५ जनाको प्रहरी टोली र धुलिखेल अस्पतालका फरेन्सिक चिकित्सकको टोली परिचालित गरिएको थियो ।
मृतकका बुबा कमलबहादुर उप्रेतीले छोरीको शवको सनाखत गरेका थिए । प्रहरीका अनुसार शर्मिला ३२ असारदेखि बेपत्ता थिइन् र सोही दिन उनको हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आरोपी सन्तोषलाई बनेपा नगरपालिका–१० स्थित इँटाभट्टाको एक कोठाबाट पक्राउ गरिएको हो । उनलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।














