काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका सम्बन्धित परियोजना कार्यान्वयन निकायहरूबीच आज पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूलाई अघि बढाउन समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा सञ्चालित यी परियोजनाहरूको कुल अनुमानित लागत ३९ करोड रहेको छ ।
यी पाँच परियोजनाहरूमा धनुषाको बटेश्वर गाउँपालिका–३ मा श्री जनशक्ति माध्यमिक विद्यालयको भवन, पर्साको पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालयको भवन र अछामको मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालयको भवन निर्माण रहेका छन् ।
त्यस्तै, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालयको भवन, छात्रावास र पुस्तकालय निर्माण र मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवन निर्माणका परियोजनाहरु रहेका छन् ।
यी परियोजनाहरूको कार्यान्वयन नगरपालिका, गाउँपालिका र नेपाल सरकारका स्थानीय निकायहरू तथा संस्थाहरूमार्फत गरिनेछ । सन् २००३ यता भारत सरकारले आज हस्ताक्षर भएका परियोजनासहित नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूलाई अघि बढाएको छ ।
यीमध्ये ४९६ परियोजनाहरू, जसमा शिक्षा, स्वास्थ्य, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र सार्वजनिक उपयोगका संरचनाहरू समावेश छन् । बाँकी परियोजनाहरू विभिन्न चरणमा रहेका छन् । भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ ।














