Logo
Logo

नेपालको पत्रकारिता क्षेत्रमा कोभिड–१९ को गम्भीर असर


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, ६ भदौ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणको गम्भीर असर नेपालको पत्रकारिता क्षेत्रमा देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ ।

यही बुधबार काठमाडौंबाट भर्चुअल समारोहकाबीच अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नुभयो । सो क्रममा उहाँले प्रतिवेदनले पत्रकारहरुलाई आर्थिक कठिनाई परेको कुरा तथ्यगत रुपमा देखाएको बताउँदै सरकारले समाचार संस्थहरुसँग छलफल गरी कोरोना राहत कोषबाट पत्रकारहरुलाई सहयोग गर्न सकिने बताउनुभयो । समाजलाई प्रेरणा दिने पत्रकारहरु नै जोखिम, चिन्ता र चरम निराशामा पर्नु दुख लाग्दो विषय भएको उल्लेख गर्दै उहाँले विमा र अन्य भौतिक सुरक्षा पत्रकारहरुलाई प्रदान गर्ने दायित्व मिडियाको पनि भएको र यसका लागि सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघको अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघले पनि कोभिड १९ ले पत्रकारहरुमा परेको प्रभावबारे अनुसन्धान गर्न लागेको बताउँदै आज सार्वजनिक प्रतिवेदनले आगामी खोजअनुसन्धानलाई आधार सिर्जना गरेको उल्लेख गर्नुभयो । यसका लागि पत्रकारहरुलाई लक्षित गर्दै विक्रम सम्बत २०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सात वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पु¥याएको देखाएको छ । सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारहरुले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारहरुले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारहरुले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएका छन् । २५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् ।

त्यस्तै पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिकरुपमा प्रभावित भएका छन् जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् । महाव्याधिले सबै खालमा समाचार प्रकाशन तथा प्रसारणलाई उल्लेखनीय प्रभाव पारेको छ । उत्तरदाताले प्रसारण, श्रव्य तथा श्रव्यदृश्य सामग्रीको उत्पादन घटेको प्रतिक्रिया दिएका छन् । छापा माध्यमहरुको पनि प्रकाशन आवृत्ति (फ्रीक्वेन्सी) तथा पृष्ठ दुबै घटेको पाइएको छ । केही प्रकाशनहरु डिजिटल माध्यममा मात्र सीमीत भएका छन् । छापा माध्यममा कार्यरत ५५ प्रतिशत उत्तरदाताले आफू कार्यरत छापा माध्यमको पृष्ठ घटेको बताएका छन् भने ४८.४ प्रतिशत (२२७ जना) ले छापा माध्यमको प्रकाशनको समय (फ्रीक्वेन्सी) घटेको उल्लेख गरेका छन् । रेडियोमा कार्यरत ५१.८ प्रतिशत (१७६ जना) उत्तरदाता र टेलिभिजनमा कार्यरत ४२.८ प्रतिशत (११६) उत्तरदाताले प्रसारण सामग्रीको उत्पादनको घटेको उल्लेख गरेका छन् ।

सर्वेक्षणमा विपत्सँग जुध्ने पत्रकारहरुको क्षमतालाई स्वमूल्यांकनको आधारमा नेट प्रोमोटर स्केल विधिबाट मापन गरिएको थियो जसले पत्रकारहरुमा विपतको तयारी कमजोर रहेको देखाएको छ । पत्रकारहरुलाई तालिमलगायतका क्षमता विकासमा स्रोतसाधनको लगानी आवश्यक रहेको समेत प्रतिवेदनमा औल्याइएको छ । त्यसबाहेक विपतको समयमा पत्रकारिता क्षेत्रको क्रियाशीलताका लागि सरोकारवालाहरुको लागि विभिन्न सिफारिससमेत सर्वेक्षण प्रतिवेदनमा गरिएको छ ।

नेपाल प्रेस इन्ष्टिच्यूट यस महत्वपूर्ण सर्वेक्षणमा सघाउने सबै पत्रकार तथा सहयोगी संस्थाहरुप्रति आभार प्रकट गर्दै आम सञ्चार शिक्षा तथा यससम्बन्धी नीति निर्माणमा यस सर्वेक्षणले सघाउने विश्वास व्यक्त गरेको नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष नीलकण्ठ उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्