
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सुुरु हुने छ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालय च्यासलमा हिजो देखि सुरु भएको बैठकमा पहिलो दिन ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका छन् । प्रत्येक केन्द्रीय सदस्यहरुलाई ३ मिनेटको समय दिइएको छ ।
बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका हुन्।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीका ४९ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका छन्।
अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नविकरण गरेको विषयले पनि प्रवेश पाएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
बैठकमा बहस नोट लेखनको जिम्मेवारी पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य रहेको कमिटी गठन गरिएको छ । अब आजको बैठकमा बाँकी नेताहरुले आफ्नो धारणा राख्ने र अध्यक्ष केपी शर्मा ओलीले बैठक समापन गर्ने तयारी रहेको छ ।














