Logo
Logo

‘कुलिङ पिरियड’ ४ वर्ष राख्नुपर्ने कांग्रेसको प्रस्ताव 


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका कांग्रेस सांसद नारायणदत्त भट्टले सरकारी कर्मचारीका लागि ‘कुलिङ पिरियड’ ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको छन् । मङ्गलवार राष्ट्रियसभामा पार्टीको तर्फबाट विशेष समयमा बोल्दै सांसद नारायणदत्त भट्टले कुलिङ पिरियड ४ वर्ष राख्नुपर्ने बताएका हुन् ।

The current image has no alternative text. The file name is: narayan-bhatt.gif

कुलिङ पिरियड २ को ठाउँमा ४ बनाउनुपर्ने उनको माग छ । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारीका लागि राजीनामा दिएको वा अवकाश भएको २ वर्षसम्म संवैधानिक, कुटनीतिक वा अन्य नियुक्ति नपाउने प्रावधान छ ।

तर, यो प्रावधान निष्क्रिय पार्ने भाषा समेत विधेयकको प्रतिवेदनमा परेको भनेर प्रश्न उठेपछि प्रतिनिधिसभामा संसदीय विशेष छानबिन समिति नै बनेको छ । राष्ट्रियसभामा भने विधेयक अगाडि बढेको छ ।

राष्ट्रियसभामा नेकपा एमालेले कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर संशोधन प्रस्ताव राखेको छ ।  कुलिङ पिरियड नै नराख्ने प्रस्तावको विरोध गर्दै कांग्रेस सांसद भट्टले बरु कुलिङ पिरियडको अवधि २ वर्ष नभएर ४ वर्ष राख्नुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका हुन् ।

कुलिङ पिरियड नै नराख्ने प्रस्ताव गर्नेहरूप्रति उनको प्रश्नसहितको चेतावनी छ, ‘कुलिङ अफ पिरियडमा संशोधन हालेका सबैमान्यज्यूहरुको संशोधन अगाडि बढेन भनेर आज जसरी जनचासोको विषय बनेर बसेको छ । यो गम्भीर विषय हुनेछ । यसमा जुन मान्छेले दायाँ बायाँ गर्न खोज्छ ख्याल गरे हुन्छ २०८४  धेरै टाढा छैन ।’

जे जस्तो संशोधन परेता पनि राष्ट्रिय सभाले विवेकसम्मत निर्णय लिने उनको विश्वास छ ।

नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूले पनि  ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा। शेखर कोइराला र प्रवक्ता डा। प्रकाशशरण महतले एमालेको व्यवहारप्रति सशंकित भएको अभिव्यक्ति दिएका छन् ।

मङ्गलवार नेताहरूले ‘कुलिङ अफ पिरियड’ बारे बोल्ने क्रममा एमालेका सांसदले राखेको संशोधन फिर्ता नलिए सत्ता गठबन्धनमा नै सङ्कट आउन सक्ने चेतावनी दिएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिए । एमालेका पाँच सांसदले कुलिङ अफ पिरियडमा संशोधन प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्