काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारीका लागि कसैलाई पनि समर्थनको आश्वासन नदिएको प्रष्ट पारेका छन् ।

मङ्गलवार बिहान बूढानीलकण्ठस्थित आफ्नो निवासमा पुगेका पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतसँगको भेटमा देउवाले यस्तो बताएका हुन् ।
केही नेताले सभापतिबाट ‘ग्रिन सिग्नल’ प्राप्त गरेको भन्दै प्रचार गरेको विषयमा जिज्ञासा राख्दा देउवाले कसैलाई पनि उम्मेदवारीको वचन नदिएको स्पष्ट गरे । पूर्वउपसभापति श्रेष्ठले सभापतिले समर्थन गरेको भन्दै हिँड्नेहरूको कुरा सुनिएको भन्दै सत्यता सोधेका थिए । जवाफमा देउवाले कसैलाई पनि वचन नदिएको बताएको श्रेष्ठले उल्लेख गरे । साथै, छलफलमा देउवाले पार्टी नेतृत्वको विषयमा उपयुक्त समयमा छलफल हुने बताए ।
पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिप्रति कांग्रेसको आपत्ति
सोही भेटमा नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने निर्णयप्रति आपत्ति जनाए । सोमबार प्रकाशमान सिंहको निवासमा भएको छलफलमा पनि यो विषय उठेको थियो ।
कांग्रेस नेताहरूले राष्ट्रपति पद देशको सर्वोच्च पद भएकाले त्यहाँ पुगिसकेको व्यक्ति पुनः पार्टी राजनीतिमा फर्कनु उपयुक्त नहुने धारणा राखे । सभापति देउवाले पनि यो विषयमा एमालेले गम्भीर निर्णय गर्नुपर्ने बताए । उनले एमाले अध्यक्षले पूर्वराष्ट्रपति राजनीतिमा फर्कने विषयमा स्पष्ट हुनुपर्ने धारणा व्यक्त गरे । नेताहरूले राष्ट्रपति पदको मर्यादा कायम राख्नुपर्नेमा जोड दिए ।
यता, भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरिसकेकी छन्, जसले एमालेभित्र पनि मतभेद निम्त्याएको छ ।














