काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीका नेतृत्वमा व्यक्तिवादी प्रवृती मौलाएको बताएका छन् । मङ्गलवार (आज) काठमाडौंमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले बिस्तारै पार्टीमा नेतृत्वको वरिपरि गोलबद्ध हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने एउटा प्रवृत्तिको विकास भएको बताए ।

कम्युनिष्ट पार्टीको नेतृत्वमा पनि जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति मौलाएको उनलको आरोप छ । उनले यस्तो प्रवृत्तिले कम्युनिष्टको सत्तो हराएको बताए ।
शर्माले कम्युनिष्ट पार्टीभित्र प्रश्न र आलोचनाहरूको आफ्नो महत्त्व रहेको बताए । तर, नेपालका कम्युनिष्ट पार्टीहरूमा प्रश्न र आलोचनाका लागि ठाउँ नरहेको उनले बताए । ‘कम्युनिष्ट पार्टीहरूभित्र आलोचना, प्रश्नहरूको भूमिका हुन्छ, महत्त्वपूर्ण हुन्छ । आलोचना महत्त्वपूर्ण शिक्षाहरू हुन् । कम्युनिष्ट पार्टीभित्र प्रश्नहरू सुन्न पनि तयार भइँदैन,’ उनले भने ।
शर्माले आफूहरूले राज्यपुर्नसंरचनाको कुरा उठाएका भए पनि अहिले मुद्धाको विषय बन्न नसकेको बताए । नेताहरू सत्ताको कुर्सी प्राप्तिमा लागेकै कारण नयाँ संविधान कार्यान्वयन गर्न सकिएको उनको दाबी छ । उनले भने, पुरानै राज्य संरचना, माइड सेटले नयाँ संविधानको कार्यान्वयन, जनताको अधिकारको कार्यान्वयन गर्न उनीहरू तयार भएनन् । राजनीतिक नेतृत्व उनीहरूकै कारिन्दा जस्तो भयो । पुरानै माइन्ड सेटबाट परिचालित भए । व्यक्तिगत निहित स्वार्थमा पार्टनरसिप गरेर एकले अर्कालाई प्रशंसा गर्न स्थिति सिर्जना भयो । यो दुर्भाग्यपूर्ण स्थिति हो ।’














