काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई आजीवन र मरणोपरान्त नेतृत्वको सम्मान दिइरहेको भन्दै कटाक्ष गरेका छन् । मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भुसालले कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए ।

उनले ओलीप्रति लक्षित गर्दै भने, ‘हाम्रो आन्दोलनमा नेतृत्वले ‘म २० वर्ष कुर्सीमा बस्छु, अरूलाई १०–१५ वर्षमा तयार गर्छु र छाड्छु’ भन्नुपर्नेमा च्यासलमा आजीवन र मरणोपरान्त नेतृत्वको आरती उतार्ने काम भइरहेको छ । यो आन्दोलनको ठूलो विरोधाभास हो ।’
उनले राष्ट्रिय स्वाभिमान जोगाउन र संविधान जारी गर्न सफल भए पनि भ्रष्टाचारमुक्त राज्य व्यवस्था निर्माण गर्न नसकिएको बताए । ‘हामीले क्रान्तिकारी पार्टी बनाउन सक्यौँ, तर घूस नखाने व्यवस्था बनाउन सकेनौँ । गुटबन्दी र पार्टी कब्जा गर्ने प्रवृत्ति रोक्न सकिएन । दलाल पुँजीवादले हाम्रो क्रान्तिकारी आन्दोलनलाई सफल हुन दिएको छैन,’ उनले भने ।
भुसालले राजनीति सत्ताकेन्द्रित भएको र गठबन्धनमार्फत राज्य दोहन गर्ने प्रवृत्ति स्थापित भएको बताए । ‘यस्तो राजनीतिले जनतामा असन्तुष्टि बढाएको छ र अराजक पपुलिज्म हावी हुँदै छ। २०८४ को चुनावसम्म अवस्था सहज छैन । समाज उग्र बन्दै छ र यो बङ्गलादेश वा पाकिस्तानको मोडलमा जान सक्छ,’ उनले चेतावनी दिए ।














