Logo
Logo

सभामुखले राप्रपा र रास्वपालाई भने-संसदीय कारबाहीमा सहभागी नहुँदा मलाई अप्ठ्यारो भयो 


2.1k
Shares

काठमाडौं । विपक्षी दलहरूले निरन्तर संसद् बैठक बहिष्कार गरेपछि सभामुख देवराज घिमिरेले चिन्ता व्यक्त गरेका छन् । उनले यो विषयमा सत्ता पक्ष र विपक्षी दलहरूसँग छलफल गरेका छन् । 

The current image has no alternative text. The file name is: sabhamukha-1.gif

मंगलबार दिउँसो सभामुख घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन् । 

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले संसदीय कारबाहीमा सहभागिता नजनाएको विषयमा सभामुखले चासो राखेका हुन् । बैठकमा उनले भने, “सरकार र विपक्षी दलबीच संवादको कमीले संसद्मा असर परेको छ । सभामुखको हैसियतले मलाई यो अवस्था असहज लागेको छ । जोसुकै सभामुख भए पनि संसद् सञ्चालन गर्नुपर्ने बाध्यता हुन्छ ।”

उनले सरकारले आगामी आर्थिक वर्षका लागि १२१ विधेयक प्रस्तुत गर्ने तयारी गरेको उल्लेख गर्दै उनले संसदीय गतिविधिमा सहभागी हुन सबै पक्षलाई आग्रह गरे । ‘संसद् निरन्तर अवरुद्ध हुँदा ती विधेयकको भविष्य के हुन्छ, सबैले सोच्नुपर्छ । संसद् सञ्चालनको वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई अनुरोध गर्छु । तपाईँहरूका सैद्धान्तिक र राजनीतिक मुद्दामा मेरो कुनै टिप्पणी छैन, तर संसदीय गतिविधि प्रभावित भएको छ,’ उनले भने । 

मन्त्री चौरसियाले सरकारले छानबिन समिति गठन गरी काम सुरु गरेको र प्रमुख विपक्षी दलको सहमति रहेको बताए । उनले भने, ‘सरकार विपक्षीलाई बेवास्ता गरेर अघि बढ्ने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि निरन्तर छलफल भइरहेको छ । सहमतिको बिन्दुमा पुग्न विपक्षी दलहरू पनि लचक हुनुपर्छ, सरकारले आवश्यक गृहकार्य गर्नेछ ।’ 

यता, रास्वपाका कार्यवाहक सभापति अर्यालले भिजिट भिसा प्रकरणमा सरकार गम्भीर नभएको आरोप लगाए । ‘सभामुखले सहमतिका लागि निरन्तर प्रयास गर्नुभएको छ, धेरै बैठक स्थगित पनि भए । तर, हामीले उठाएका मुद्दा गम्भीर छन् । यस्तो संवेदनशील विषयमा सरकारले तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको छ,’ उनले भने । 

त्यस्तै, राप्रपाका उपाध्यक्ष तामाङले भिजिट भिसा प्रकरणमा सहमति बिना संसद्मा फर्कन नसकिने अडान राखे । ‘सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । बैरागी छानबिन समितिले के गरिरहेको छ भन्ने जानकारीसमेत संसद्लाई दिइएको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्