काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमाले मिलेर बनेको शक्तिशाली सरकारले एक वर्ष समय त्यतिकै फालेको बताएका छन् ।भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले सरकारबारे अब गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

आवश्यक परे मन्त्रीहरू फेरेर भएपनि सरकारको प्रभावकारिता बढाउनुपर्ने थापाको सुझाव छ । उनले भने ,‘कांग्रेस र एमाले मिलेर बनेको यो सरकारले जुन लाभ प्राप्त गर्नुपर्ने हो त्यसमा हामी नराम्रोसँग चुकेका छौँ । केपी ओलीले सरकारको नेतृत्व गरिराख्नुभएको छ, हामी त्यसको साझेदार छौँ । मेरो चिन्ता एक वर्ष खेर गइसक्यो, अर्को एक वर्ष खेर नफालौँ ।’ उनले अहिले सरकार टिक्नु नै खुसीको कुरा भएकोजस्तो भएकोले अब भने उपलब्धि हाँसिल गर्नुपर्नेमा जोड दिए ।














