
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई देउवा क्याम्पका बालकृष्ण खाँणले समर्थन गरेपछि सत्तालाई धक्का पुग्नेगरी आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । नेता कोइरालाले एकै दिन दुई स्थानमा आफू निकटका सांसदहरूलाई बोलाएर सत्तामा रहेका कांग्रेसका मन्त्रीहरूप्रति असन्तुष्टि जनाउँदै एमालेले कांग्रेसलाई धोका दिएकोसमेत अभिव्यक्ति दिए ।
नक्कली भुटानी शरणार्थी काण्डमा आरजु राणा देउवाले फसाएपछि पूर्वगृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणले देउवा क्याम्प छाडेर शेखरतिर लागेका छन् । खाँणनिकट सात सांसद पनि शेखर कित्तामै लागेका छन् ।
तर पार्टी महामन्त्री गगन थापा भने कांग्रेस महाधिवेशनका बेला शेखरसँग एकैठाउँमा भए पनि अहिले अलग देखिएका छन् । तर पनि उनीहरूको उद्देश्य भने एउटै रहेको छ । समयमै कांग्रेसको महाधिवेशन गराउने र पार्टी नेतृत्व आफ्नो पक्षमा पार्ने विषयमा उनीहरूको धारणा मिलेको छ ।
अहिले शेखर गगनविना नै सरकार फेरबदल गर्ने कसरतमा लागे पनि मूलतः पार्टी महाधिवेशन समयमै गराउने शेखरको उद्देश्य रहेको छ ।
सरकार ढाल्नु पर्यो भन्दै पार्टी महामन्त्री गगन थापालाई आग्रह गरिरहेका नेता शेखरले संसदीय दलको नेता परिवर्तन गर्ने गरी अघि बढ्दा उनै गगनलाई जानकारी दिएका थिएनन् । गगन पक्षका केन्द्रीय सदस्यहरू शेखरको यो असफल प्रयास भएको बत्ताउँछन् । संसदीय दलको बैठकमा गगनलाई नै सहयोग गरेका ७ जना अनुपस्थित रहेको बेला कोइरालाको यो दौडधुप अर्थहीन रहेको ती केन्द्रीय सदस्यको दाबी छ ।
कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन भन्दै खुमलटारदेखि भंगालसम्म पुगेर प्रयास गरेका कोइरालाको पछिल्लो गतिविधिलाई अर्थपूर्ण रूपमा हेरिएको भए पनि शेरबहादुर देउवाले ओलीको साथ नछाड्दासम्म यो सम्भव नभएको कांग्रसकै नेताहरूको दाबी छ । कोइरालाले गत आइतबार बिहान बानेश्वर र दिउँसो याक एण्ड यतीमा सांसदहरूसँग छलफल गरेका थिए ।
पार्टी संसदीय दलको नेता फेर्ने सन्दर्भ भने बाँकी नै रहेको कांग्रेसका सांसदहरूले बताएका छन् । खुमलटारदेखि भंगालसम्मको दौडधुपले नयाँ सत्ता समीकरण बनाउने कसरत भइरहेको चर्चा चलेपछि एकैदिन कोइरालाले आफूनिकट रहेका सांसदहरूसँग परामर्श गरेपछि त्यसको उद्देश्य भनेको शेरबहादुर देउवालाई दबाब दिनु मात्र रहेको बताइन्छ ।
त्यो भेलामा गगन थापा र उनी पक्षका सांसद उपस्थित नभएपछि कोइरालाको भेला अपूरो रहेको थियो । आइतबार बिहान नेता कोइरालाले कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीसहित ८ जना सांसदहरूसँग छलफल गरेका थिए भने केही सांसदहरूसँग दिउसो याक एण्ड यतिमा छलफल गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको कामकारबाहीप्रति सन्तुष्ट नभएका विषयहरूमा सांसदहरूलाई जानकारी गराएका थिए । ओली नेतृत्वको सरकारमा कोइरालाले आफू पक्षबाट ४ जना मन्त्री पठाएका छन् । मन्त्रिपरिषद् पुर्नगठन भएमा कोइरालाले थप्न बार्गेनिङ गरेको कतिपयको बुझाइ छ ।
संस्थापनइतरसँग कोइराला–थापा समूह एक ठाउँमा उभिए कम्तीमा ३१ जना सांसद पुग्ने त्यतिवेलाको निर्वाचन परिणामले पनि देखाएको थियो । यद्यपि, कोइराला समूहका नेताहरूले आफूहरूसँग ४१ सांसद रहेको दाबी गरेका छन् । तर त्यसलाई पुष्टि हुनेगरी तथ्यांक बाहिर आएको छैन । उनीहरू ५० सांसद पुर्याउन लागिपरेका छन् । भावी नेतृत्वका लागि कोइराला र थापाबिच नै प्रतिस्पर्धा रहेकाले संसदीय दलको नेताबाट देउवालाई हटाउन सहज नदेखिए पनि कोइराला आइतबार आफ्ना सांसद राखेर आफू नेतृत्व परिवर्तन गर्नका लागि तयार रहेको संकेत गरेको एक सहभागी सांसदले बताए ।
त्यसका लागि कोइरालाले ३१ जना सांसद कायमै राखेर थप १४ जना आफ्नो पक्षमा ल्याउनुपर्ने हुन्छ । तर यो सहज भने देखिएको छैन । गगन थापा र उनका सांसद बाहिर रहँदा कोइरालाको कमजोर यात्रा सहज नदेखिएको थापा समूहका एक केन्द्रीय सदस्यले बताए । कांग्रेसकै एउटा समूहले मन्त्रिपरिषद् पुर्नगठन हुने विषयमा आफ्नो पक्षबाट धेरैभन्दा धेरैको सहभागिता जनाउन यो तहको छलफल गरेको हुनसक्ने जनाएको छ ।
कोइराला समूहको आन्तरिक छलफलमा सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूका कामकारबाहीप्रति पनि गुनासा उठेका छन् । खासगरी गृहमन्त्री रमेश लेखकको विषयमा कुरा उठाइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने विषयमा कोइरालाले सार्वजनिक रूपमै कुरा उठाएका थिए ।
साउन १ गते पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेर कोइरालाले दुई घण्टा छलफल गरेपछि बैकल्पिक गठबन्धन बनाउन चर्चा चलेको थियो । कोइरालासँग भेटघाट गरेपछि माओवादी अध्यक्ष दाहालले सरकार ढाल्ने आन्दोलन शुरु गर्न पार्टी पङ्क्तिलाई निर्देशन समेत दिएका छन् ।
एमालेमा विद्या–ओलीको लफडा चलिरहेका बेला कोइरालाले आइतबार आफ्ना सांसदहरूको भेला ओली नेतृत्वको गठबन्धन सरकारविरुद्ध मोर्चा बन्दीको संकेत गरेका हुन् । कोइरालाको सक्रिय दौडधुपलाई लिएर सत्ता समीकरण फेरबदल गर्ने कसरतका रूपमा अहिले विश्लेषण भइरहेको छ ।
असार २६ गते अनुशासन समितिले अघिल्लो निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका आफू पक्षका १८ जनालाई कारबाही गरेपछि कोइराला सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेका छन् । त्यसको भोलिपल्टै आफूनिकट नेताहरूसँग छलफल गरेर उनले कारबाहीको विरोध गरेका थिए ।
आइतबार साँझ पनि सामाजिक सञ्जालमार्फत सरकारको विरोध गरेका छन् । नेता कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्यिसभामा संघीय निजामती सेवा विधेयकमा हालेको संशोधनप्रति आपत्ति जनाएका छन् ।
गठबन्धन दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरीत एमालेले आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाएको भन्दै एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । उनले एमालेको यो चरित्र ‘देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो’ भनेका छन् ।
नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्दै उनले एमालेले हालेको संशोधन पास हुन नदिने पनि स्पष्ट पारेका छन् । ‘सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । ‘कुलिङ पिरियड’ रहन्छ, रहन्छ र रहन्छ । कोही दुबिधामा नपरे हुन्छ’, उनले सामाजिक सञ्जालमा भनेका छन् । कोइराला निरन्तर रूपमा ओली सरकारको विरोधमा रहेका छन् । उनले यसअघि पनि ओली सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाउनु पर्ने अभिव्यक्ति दिँदै आएका थिए ।











