Logo
Logo

‘विद्या भण्डारीलाई संविधानले रोक्दैन अनि राजनीतिले रोक्न मिल्छ ?’


3.2k
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दलीय राजनीतिमा सक्रिय हुन संविधानले नरोक्ने बताएका छन् । उनले संविधानले नरोक्ने अनि राजनीतिले रोक्न मिल्छ भन्दै प्रश्नसमेत गरेका छन् ।

एमालेको नवौं केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा फर्कन रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असहमति जनाउँदै कार्कीले पूर्वसभामुखहरूको दृटान्त दिँदै भण्डारीलाई रोक्न मिल्छ ? भन्दै प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘ए गाँठे ! धेरैअघि नै होइन, रामचन्द्र पौडेल समामुखबाट फर्केपछि कांग्रेसमा सामेल भएकै हुन्, सुवास नेम्वाङ उसरी नै सभामुखबाट फर्केपछि एमालेमा सामेल भएकै हुन् । बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री भएकै हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा उपाध्यक्ष हुँदा आकाश खसेको छैन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राजनीतिको मझेरी टेक्नुहुन्न ?।’

बहालवाला राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति हुने भएकाले दलगत हुनु नहुने उनले बताएका छन् । त्यसर्थ पदको गरिमाको पूर्ण सम्मान गर्नुपर्ने र उल्लंघनको छुट नभएको उनको भनाइ छ ।

कार्कीले भनेका छन्, ‘तर पूर्वराष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइनन् । त्यसैले संविधानले रोक्दैन । राजनीतिले रोक्न मिल्छ ? हामी बडो लोकतान्त्रिक छौं । हामी राजनीति गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्