Logo
Logo

रास्वपा–राप्रपाको ५९ दिनदेखि संसद् अवरोध, बनाए नयाँ रेकर्ड  


1.1k
Shares

काठमाडौं । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ५९ दिनदेखि प्रतिनिधिसभा अवरुद्ध गर्दै नयाँ रेकर्ड बनाएका छन् । यद्यपि, उनीहरूको अवरोधका बावजुद संसद् बैठक चलिरहेको छ । अवरोधको प्रभाव कमजोर बनेपछि दुवै दलका सांसदहरूले पछिल्लो समय बैठकमा आफ्ना कुरा राखेर बाहिरिने रणनीति अपनाएका छन् ।

The current image has no alternative text. The file name is: parliyament.gif

तकालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको राजीनामा माग गर्दै २०५७ माघ २६ गतेदेखि चैत २३ गतेसम्म एमालेले ५७ दिनसम्म संसद् अवरुद्ध गरेको थियो ।  यस्तै २०७८ भदौ २३ गतेदेखि २०७८ चैत १ गतेसम्म एमालेले १८७ दिन संसद् अवरुद्ध  गरेको  थियो ।  सबै भन्दा लामो समय अवरोध गर्ने रेकर्ड भने एमालेकै नाममा रहेको छ । 

आज बिहीबारको बैठक, दिउँसो १ बजेका लागि तय भएको भए पनि केही ढिलो सुरु भयो । बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले बोल्ने समय दिएपछि रास्वपाकी सांसद तोसिमा कार्कीले सरकारमाथि दमनकारी शैली अपनाएको र भिजिट भिसा प्रकरणमा पारदर्शी छानबिन गर्न तयार नभएको आरोप लगाइन् ।

 उनले भिजिट भिसाका नाममा अपारदर्शी आर्थिक लेनदेन भएको र यसको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग राखिन् । कार्कीले सरकार गठनका बेला नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधन र सुशासनको प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा उल्टो भएको बताइन् । उनले प्रश्न गरिन्, ‘दुई प्रतिपक्षी दलको निरन्तर विरोधका बावजुद संसद् किन निर्बाध चलिरहेको छ ? यो संसद् जनताको हो कि सरकारको कठपुतली हो ?’ उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभए इतिहासले समीक्षा गर्ने चेतावनी दिइन् ।यस्तै, राप्रपाका सांसद दीपक सिंहले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्‍याए ।

उनले समिति नबनेसम्म संसद्का गतिविधिमा सहभागी नहुने अडान कायम राखे । रास्वपा र राप्रपाले १३ जेठ २०८२ देखि भिजिट भिसा प्रकरणमा छानबिनको माग राख्दै संसद् अवरुद्ध गर्दै आएका छन् । १५ जेठमा बजेट प्रस्तुत गर्न दिए पनि अन्य गतिविधिमा सहभागिता जनाएका छैनन् । सुरुमा वेल घेराउ र नाराबाजी गरेका रास्वपाका सांसदहरूले केही समय वेलमै पलेँटी कसेर बसेर विरोध जनाए ।

पछिल्लो समय भने उनीहरूले आफ्ना कुरा राखेर बाहिरिने रणनीति अपनाएका छन् । रास्वपा र राप्रपाको निरन्तर अवरोधले संसद्को प्रभावकारिता र सरकारको जवाफदेहितामाथि प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्