काठमाडौं । युवराज खतिवडाले नेपालको अर्थतन्त्रका केही परिसूचक राम्रा नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोल्दै खतिवडाले निजी क्षेत्रको लगानी उत्साहजनक नभएको बताएका हुन् । खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पनि हुन् ।

उनले भने, ‘केही परिसूचक राम्रा छैनन् । निजी क्षेत्रको लगानी उत्साहप्रद रहेन। ३ वर्षयता। समग्रमा ६८ प्रतिशत अंश व्यहोथ्र्यो। अहिले छैन। अहिले एकतिहाइले निजी क्षेत्रको लगानी खुम्चिएको छ । लगानीको स्रोत बैङ्कको कर्जा, सेयर इक्विटी र विदेशी लगानी हो। कहिलेकाहीँ नीतिगत सुधारमा जोड दिँदा पछाडि फर्किनुपर्ने हुँदो रहेछ।’
पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडाले यो वर्ष ५.५ देखि ६ प्रतिशतको बीचको आर्थिक वृद्धि हुने दाबी गरे । उनले आफू अर्थमन्त्री भएको बेलामा देशको अर्थतन्त्र राम्रो भएको दाबी गरे । उनले भने, ‘म अर्थमन्त्री भएको बेला विश्व बैङ्कको डुइंग बिजनेस मापनमा १९० मुलुकको सर्भे गर्दा हामी ११० मा थियौँ । ९४ औँ स्थानमा आएका थियौँ । केही न केही सुधार भएको अवस्था छ । देशको सार्वभौमिक साख मूल्याङ्कन गर्ने कुरा अघिल्लो वर्ष भयो। हामी बीबी माइनस भयौँ तर दक्षिण एसियामा जोखिम कम भएको मुलुकमा पर्छौँ ।’
निजी क्षेत्र र सार्वजनिक क्षेत्र परिपूरकता हुनुपर्ने भन्दै उनले व्यवसायको लाभ सबैले पाउन् भनेर समाजवाद उन्मुख अर्थतन्त्र आवश्यक रहेको बताए ।














