बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ किउडीबाट धुलाचौरतर्फ जाँदै गरेको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा हिमाली गाउँपालिका–५ की अन्दाजी ६० वर्षीया बाचा रोकाया, ६५ वर्षीया विजौरा रोकाया र ३५ वर्षीया जुनेली रोकाया रहेका छन्। तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै १६ जना घाइतेमध्ये ७ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको छ । जसमा हिमाली–२ का जिप चालक २२ वर्षीय गौरी बुढा, २२ वर्षीय बाजधन रोकाया, ५० वर्षीय राम बहादुर बुढाथापा, २६ वर्षीय सुरेन्द्र शाही, हुम्लाको ताजाकोट गाउँपालिका–३ का ४५ वर्षीय वीर बहादुर बुढा, ४५ वर्षीय भैजित बुढा, २६ वर्षीय धन सिंह रोकाया रहेको रहेका छन्। बाँकी ९ जना घाइतेलाई हिमाली गाउँपालिकाको एम्बुलेन्सबाट कोल्टी अस्पताल लगिएको छ । उनीहरूको अवस्था मध्यमदेखि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए ।
क्यूडीबाट धुलाचौरका लागि छुटेको बा।प्र।०३००१ ज ०३३८ नम्बरको जिप हिमाली गाउँपालिका–२ का २२ वर्षीय गौरी बुढाले चलाएका थिए । कच्ची र साँघुरो सडकमा जिप अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । जिपमा १९ जना सवार रहेका थिए । उनीहरू सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडातर्फ आउँदै थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरा, पर्यटन मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो । घाइतेको सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कठिन भौगोलिक अवस्था र साँघुरा कच्ची सडकका कारण हिमाली क्षेत्रमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् ।














