Logo
Logo

रुपन्देही-३ उपनिर्वाचन : कांग्रेसको मुख्य चुनौती एमाले र रास्वपा


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आगामी कात्तिक १७ गते हुने रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल भएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकमा जिल्ला सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन र केन्द्रीय सदस्य बालकृष्ण खाणले स्थानीय राजनीतिक अवस्थाबारे जानकारी गराएका हुन् । 

The current image has no alternative text. The file name is: congress-3.gif

बैठकमा रामकृष्ण खाणले स्थानीय राजनीतिक घटनाक्रम र उपनिर्वाचनमा पार्टी परिचालनको रणनीति प्रस्तुत गरे । अम्मरसिंह पुन र बालकृष्ण खाणले रुपन्देही-३ मा कांग्रेस बलियो रहेको र पार्टी एकताबद्ध भए जित सुनिश्चित हुने बताए । २०७९ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २०,२७९ मत ल्याएर पहिलो भएको स्मरण गराउँदै बालकृष्ण खाणले सोही मत कायम राख्न जोड दिए ।

२०७९ मा राप्रपाका दीपक बोहोरासँग पराजित भएका बालकृष्ण खाणले ३४,०३६ मत प्राप्त गरेका थिए भने बोहोराले ३६,७१७ मत ल्याएका थिए । बोहोराको २०८१ चैत १९ मा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

बैठकमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुख्य प्रतिस्पर्धी हुने विश्लेषण गरियो । रामकृष्ण खाणले उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने र स्वतन्त्र उम्मेदवारहरूको प्रभावलाई पनि विचार गर्नुपर्ने बताए ।

सभापति देउवाले रास्वपाका रवि लामिछानेको सहकारी ठगी मुद्दा र स्थानीय माहोलप्रति चासो राख्दै पार्टी एकताको आवश्यकता जोड दिए । ०७९ मा समानुपातिकतर्फ एमालेले १६,९८६, रास्वपाले १४,१५४ र राप्रपाले ९,१५४ मत प्राप्त गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाणले उम्मेदवारीका लागि समर्थन मागे पनि केही नेताले उनको उम्मेदवारीप्रति असहमति जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्