काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता विवादको विषय नभएको स्पष्ट पारेकी छन् । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई पार्टी सदस्यताबाट वञ्चित गर्न नमिल्ने बताउँदै आवेग र उत्तेजनामा आधारित निर्णयले वास्तविकता नछोपिने र विवेकपूर्ण निर्णय गर्नुपर्ने जनवादी विचारधाराको मर्म रहेको उल्लेख गरिन् ।

‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कुनै कारण छैन । नेपालको संविधान, कानुन र संवैधानिक अधिकार एवं स्वतन्त्रतामाथि नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले मलाई दुखित तुल्याएको छ,’ भण्डारीले भनिन्, ‘यस्ता निर्णयले पार्टीको साखमा आँच पुग्नेछ ।’
उनले पार्टीको पछिल्लो निर्णय वैधानिक नभएको दाबी गरिन् । ‘म ४५ वर्षदेखि पार्टीको सदस्य छु। पार्टीप्रतिको मेरो निष्ठा र प्रतिबद्धतामाथि प्रश्न उठाएर मलाई सदस्यताबाट वञ्चित गर्न सकिँदैन,’ उनले भनिन् ।
उनले पार्टी निर्माणमा आफूसहित हजारौँ नेता–कार्यकर्ताको रगत–पसिना जोडिएको स्मरण गराउँदै यो कुरा भावनामा बगेर नभनेको प्रष्ट पारिन् । भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को अवधारणालाई निष्ठापूर्वक संरक्षण गर्न देशभरका एमाले कार्यकर्तालाई आह्वान गरिन् । उनले आफू आफ्नो अडानबाट विचलित नहुने स्पष्ट पारिन् । ‘म सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्य–मान्यता आत्मसात् गर्न र पार्टी निर्माणमा सक्रिय रहन आग्रह गर्छु,’ उनले भनिन्।














