काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू हाल नेकपा एमालेमै आवद्ध रहेको बताएकी छन् । राष्ट्रपतिको कार्यकाल पूरा गरी नागरिकका रूपमा पुनः मातृ पार्टी एमालेमा आवद्ध भएको उनको भनाइ छ ।
बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘एमालेको मेरो सदस्यता नविकरण भइसकेको छ । त्यसैले म अहिले एमालेमै आबद्ध छु ।’ उनले आफ्नो सदस्यता कसैले खान नसक्ने पनि बताइन् ।

हालै एमाले केन्द्रीय कमिटी बैठकले पार्टीमा आउन लगाएको रोकप्रति लक्षित गर्दै उनले यस्तो बताएकी हुन् । एमालेले केन्द्रीय कमिटी बैठकपछि भण्डारीको सदस्यताको विषय स्वतः निस्क्रिय भइसकेको बताउँदै आएको छ । यसैबेला पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलनमार्फत यो जानकारी गराएकी हुन् ।
पत्रकारहरूले एमालेले पार्टी राजनीतिमा आउन रोक्यो, अब के गर्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्, ‘कतिपय विषय आन्तरिक मामिला हुन्छन्, मैले अहिले सदस्यता नवीकरण गरेको हुँ, तर म पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । मलाई जननेता मदन भण्डारीले नै विराटनगरमा एमालेको शपथ खुवाएको हो । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्दैन ।’ उनको यो भनाइ प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित थियो ।
राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि बाँकी जीवन कुनै संगठनमा लगाएर भूमिका खेल्न आफूले चाहेको बताउँदै उनले सोअनुसार मातृ पार्टी एमालेको सदस्यता नवीकरण विधिपूर्वक गरेको बताइन् । उनले भनिन्, ‘हुलहुज्जतको भरमा मेरो सदस्यता नवीकरण रोक्न मिल्दैन ।’ उनले पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढंगले आमसञ्चार जगतले चासो राखिरहेकोमा आफ्नो ध्यान गम्भीररूपमा आकर्षित भएको उनले बताइन् ।
उनले भनिन्, ‘मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु ।’ राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन–मनन गर्दै आएको बताउँदै उनले भनिन्, ‘जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ ।’
उनले अगाडि भनिन्, ‘पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै मेरो पार्टी सदस्यता नवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए । अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो ।’ पार्टी सदस्यता नविकरण गर्नुको औचित्यबारे पनि उनले सुनाइन् ।
‘सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा एमालेमा आबद्ध भएर अगाडि बढ्नु नै थियो’ उनले भनिन्, ‘यसै विषयलाई मध्यनजर गर्दै मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा आफूले नेकपा एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने सङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ ।’
हालैका दिनमा नेकपा एमालेको केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा आफ्नो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएको बताउँदै उनले भनिन्, ‘मेरो पार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो । तर, त्यसभन्दा पहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो ।’
उनले पार्टी अध्यक्ष ओलीसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढंगले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आवद्ध भएर कार्य गर्ने विषयमा छलफल गरेको पनि बताइन् ।
भण्डारीले भनिन्, ‘तर, त्यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन ।’
उनले अगाडि भनिन्, ‘म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन । यो संवैधानिक अधिकार मात्र होइन, बरू म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ ।’
उनले राजनीतिमा फर्केर कुनै पदको लालसा र महत्वाकांक्षा नलिएको पनि स्पष्ट पारिन् । उनले भनिन्, ‘कुनै पदप्रति लालसा, महत्वाकांक्षा र आशक्ति म मा छैन किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु । मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो ।’
नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको बताउँदै भण्डारीले भनिन्, ‘म र भावना कहिँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो । जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन ।’
आवेग र उत्तेजनाका भरमा गरिएका निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउने भएपनि वास्तविकतालाई सधैँ छोप्न नसकिने उनको भनाइी छ । उनले भनिन्, ‘जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।’
राष्ट्रपति हुँदा नै एमालेको सदस्य भएको ३५ वर्ष भइसकेको स्मरण गर्दै भण्डारीले भनिन्, ‘अहिले पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेका छन् । त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन । यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ ।’
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)प्रति नेता, कार्यकर्ता र आम सदस्य एवं सम्पूर्ण जनसंगठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले नै नेकपा एमालेले अहिलेको सफलता हासिल गरेको उनको भनाइछ ।











