काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी नेतृत्व लिने मनशायसहित राजनीतिमा सक्रिय भएपछि नेकपा एमालेमा तरंग त उत्पन्न भएको छ नै, त्यसभन्दा बढी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली झस्किएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किने घोषणा गरेसँगै अध्यक्ष ओली उनलाई रोक्ने रणनीतिमा लागेका थिए । त्यसपछि बसेको केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकबाट विद्यालाई रोक्ने निर्णय गराए ।

गत मंगलबार सकिएको केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतामा रोक लगाउने निर्णय गरेको थियो । तर, पार्टीको निर्णयले भण्डारी रोकिएनन् । उल्टै, पत्रकार सम्मेलन गरेर आफूलाई एमालेमा राजनीति गर्न कसैले रोक्न नसक्ने बताइन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अध्यक्ष ओलीलाई चुनौती दिँदै ‘मुठीभरका मानिसहरूले हुलहुज्जत गरेर ४५ वर्षअघि मदन भण्डारीले दिएको पार्टी सदस्यता खोस्न नसक्ने’ कडा अभिव्यक्ति दिइन् । आफूलाई रोक्ने पार्टीको निर्णय संविधानप्रदत्त मौलिक हकको खिलाफ रहेको बताउँदै उनले भनिन्, ‘राष्ट्रपतिबाट म नागरिक भइसकेको व्यक्ति हुँ । मेरो सदस्यता कसैले खोस्न मिल्दैन ।’
पूर्वराष्ट्रपति भण्डारीको सक्रियताबाट आत्तिएका ओली हिजोआज निरन्तर छलफलमा जुटेका छन् । अध्यक्ष ओलीले पार्टी केन्द्रीय सदस्यहरूलाई बालुवाटार बोलाएर छलफल गरिरहेका छन् । अध्यक्ष ओली केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण गर्न र ध्रुवीकरण हुन नदिन रणनीतिक रुपमा लागेका हुन् ।

यसैक्रममा शनिबार साँझ प्रधानमन्त्री ओलीले सुदूरपश्चिम र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग छलफल गरे । छलफलका क्रममा ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफूसँग सल्लाह नै नगरी एक्कासी पार्टीमा सक्रिय हुने घोषणा गरेको भन्दै असन्तुष्टि पोखेका थिए ।
एक केन्द्रीय सदस्यका अनुसार ओलीले भने, ‘उहाँलाई पार्टीले निर्णय गरेर राष्ट्रपतिमा पठाएको हो । त्यहाँबाट फर्किएपछि उहाँले पार्टीमा फर्कनेबारे कुनै सरसल्लाह गर्नुभएन । पार्टी कार्यालय पनि आउनुभएन । एकैचोटी पार्टीमा फर्कने घोषणा पो गर्नुभयो !’ उनका अनुसार भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्कनमात्रै नखोजेको र त्यसभन्दा माथि पनि उद्देश्य रहेको बताएका थिए ।
ओलीले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कनेकुरा अनुचित भएको बताएको दोहोराएका थिए । अध्यक्ष ओलीले फर्कने नै हो भने पनि विधानको धारा ८ अनुसार सदस्यता त्याग गरेकाले नयाँ सदस्यता लिनुपर्ने तर्क गरेका थिए । यसअघि पोलिटब्युरो, केन्द्रीय कमिटी बैठकमा पनि यही तर्क गरेका थिए ।
केन्द्रीय सदस्यसँगको भेटमा ओलीले आफूले पूर्वराष्ट्रपति भण्डारीको आलोचना नगरेको पनि बताए । उनले भने, ‘मैले कहिल्यै उहाँको आलोचना गरेको छैन । गर्न पनि मन छैन । राष्ट्रपति हुँदा राम्रै कार्यसम्पादन गर्नुभएको हो । पार्टीमा फर्कन मिल्दैन भन्ने पार्टीको कुरा हो ।’
तर, अध्यक्ष ओलीले भण्डारीले पत्रकार सम्मेलनमार्फत् ‘हुलहुज्जत गरेर मेरो सदस्यता खोस्ने काम भयो’ भनेकाप्रति आपत्ति जनाएको ती केन्द्रय सदस्यले बताए । ओलीको भनाइ उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कमिटीले गरेको निर्णय हो । उहाँले पार्टीको सदस्यता त्याग गरेको हो । त्यागेको सदस्यता नवीकरण हुँदैन । कि नयाँ लिनुपर्छ, कि राजनीतिक निर्णय हुनुपर्छ ।’
अध्यक्ष ओलीले पार्टी निर्माणको इतिहासमा ठुल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लोपटक देखाउन खोजिएको सानो हावाको झोक्काले एमालेलाई कुनै असर नपार्ने बताएका थिए ।
ओलीले भने, ‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरूको संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं । अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रूपमा समाधान हुन्छ ।’











