Logo
Logo

एकै परिवारका १६ जना बेपत्ता, घरमा रोइरहेको कुकुर र अलपत्र चौपाया


8.1k
Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा बस्ने उर्मिला हायुको १६ जनाको परिवार बेपत्ता भएको छ ।

The current image has no alternative text. The file name is: sindhuli1.gif

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार, गत बिहीबार (८ साउन) मा उनीहरूले घरमै सुँगुर काटेर खाएको पाइएको छ । त्यसपछि उनीहरू बेपत्ता भएको अनुमान गरिएको छ । हायु परिवारको घर एकान्तमा रहेकाले बेपत्ता भएको खबर ढिलो गरी थाहा भयो ।

सोमबार बिहान खबर प्राप्त भएपछि प्रहरी, स्थानीय प्रशासन र वडाध्यक्ष रविन श्रेष्ठको टोली उनीहरूको घर पुग्दा कुकुर झ्यालमा बसेर रोइरहेको र अन्य चौपाया अलपत्र अवस्थामा थिए । घर नजिकैको छाप्रोमा आगो बालेर निभाएको जस्तो देखिन्थ्यो, जहाँ डढेका काठ र झुन्डिएका लुगाहरू भेटिए । पकाउने भाँडाकुँडा पनि बाहिरै छरिएका थिए, तर जस्ताले छाएको घरमा कोही थिएनन् ।

हायु समुदायको बसोबास रामेछापमा पनि बाक्लो भएकाले त्यहाँ पनि खोजी सुरु गरिएको छ । रामेछापका डीएसपी भोलाकुमार भट्टले पनि खोजी कार्य भइरहेको बताएका छन् ।

प्रहरीले आफन्तकहाँ गएको हुन सक्ने आशङ्कामा अनुसन्धान गरिरहेको छ । स्थानीयका अनुसार, हायु परिवार ऋणको बोझमा तनावमा थियो, जसले गर्दा उनीहरू सम्पर्कविहीन भएको हुन सक्ने अनुमान गरिएको छ । साथै, लोपोन्मुख जातिको सूचीमा रहेको यो परिवारले केही दिनअघि सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालय गएको र भत्ता बुझेको पनि खुलेको छ । भत्ता लिएकाले कसैले केही गरेको हो कि भन्ने आशङ्का पनि स्थानीयले गरेका छन् ।

बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेको प्रहरले जनाएको छ । बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् । यसैगरी छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलेको छैन ।

कसरी थाहा भयो ?

उर्मिला हायुको भैँसी घरबाट करिब ४५ मिनेट टाढा डाँडाको गोठमा बाँधिएको थियो । तीन दिनदेखि भैँसीलाई घाँस-पानी दिन कोही नआएपछि छिमेकीले शङ्का गरे ।

छिमेकीले नै भैँसीलाई स्याहार गरेका थिए । बिहीबार उनीहरूसँग भेट भएको भए पनि त्यसपछि सम्पर्क नभएको र भैँसी बेवारिसे देखिएपछि छिमेकीले घरमा जाँदा रित्तो भेटेका थिए । हायुको घरबाट नजिकको छिमेकीको घर पुग्न कम्तीमा १५ मिनेट लाग्छ । हाल स्थानीय, प्रहरी र प्रशासन खोजीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्