Logo
Logo

३० वर्षे इनमको कनेक्सनले कसरी हल्लियो राज्य संयन्त्र ?


0
Shares

एउटा ३० वर्षीय युवा, सम्पर्कमा पूर्वप्रधानन्यायाधीशदेखि राजनीतिक नेता र सुरक्षा निकायका उच्च अधिकारीसम्म ! न उनी मन्त्री, न सांसद, न कुनै सुरक्षा निकायका हाकिम । तर, उनै युवाको कनेक्सनले राज्यका शक्तिशाली पात्रहरूको कुर्सी हल्लिएको छ । पूर्वप्रधानन्यायाधीश प्रहरी नियन्त्रणमा पुग्नुपरेको छ, सशस्त्र प्रहरीका एआईजीको जागिर धरापमा परेको छ । आखिर इनाम सापकोटाले कसरी बनाए शक्तिकेन्द्रसम्म पहुँच ? अनि एउटा युवाको सम्पर्क सञ्जालले कसरी राज्यको न्यायालय, राजनीति र सुरक्षा संयन्त्रमाथि एकैसाथ प्रश्न उठाइदियो ?

झापा दमकका ३० वर्षीय इनम सापकोटा अहिले प्रहरी हिरासतमा छन् । इनममाथि अनुसन्धान अघि बढ्दै जाँदा उनको सम्पर्क सञ्जालले यो प्रकरणलाई झनै रहस्यमय बनाएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, पूर्वन्यायाधीश नवराज थपलिया, नेपाली कांग्रेसका नेताहरू, विवादास्पद व्यवसायी दीपक भट्ट र सुरक्षा निकायका उच्च अधिकारीसँग उनको सम्पर्क सञ्जाल जोडिएको पाइएको छ ।

तर, इनमको महत्त्व उनको फोनका ‘कन्ट्र्याक्ट लिस्ट’ले मात्रै निर्धारण गर्दैन । उनीसँग जोडिएका व्यक्तिहरूको पद, संवादको स्वरूप र त्यसले राज्यका निर्णयहरूमा पारेको प्रभावबारे उठेकै प्रश्नहरूले यो प्रकरणलाई थप गम्भीर बनाएको छ । पहुँचवाला व्यक्तिहरूसँग चिनजान हुनु र त्यही चिनजानको प्रयोग गरी कानुनी प्रक्रिया नै प्रभावित पार्न खोज्नु फरक कुरा हुन् । पहिलो व्यक्तिगत सम्बन्ध मात्र हुन सक्छ, तर दोस्रो कुरा प्रमाणित भए कानुनी र संस्थागत अपराध ठहरिन्छ । प्रहरी अनुसन्धानले छुट्याउनुपर्ने मुख्य विषय पनि यही नै हो । 

इनम चर्चामा आउनुको मुख्य कारक विवादास्पद व्यवसायी दीपक भट्टसँगको उनको सम्पर्क हो । आर्थिक अनियमितता, सम्पत्ति शुद्धीकरण तथा बिमा ठगीजस्ता गम्भीर आरोपमा अनुसन्धान र मुद्दा खेपिरहेका भट्ट थुनामै छँदा पनि बाहिरबाट चलखेल भएको आशङ्का गरिएको छ । भट्ट पक्राउ परेपछि उनको कानुनी प्रक्रिया र मुद्दा प्रभावित पार्न विभिन्न शक्ति समूहबिच संवाद भएको विषयलाई प्रहरीले अनुसन्धानको केन्द्रमा राखेको छ । सोही क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र इनमबिच भएको सम्पर्क भएको पाइएको छ । 

प्रहरीले जबराको मोबाइल तथा ‘कल डिटेल्स’ जाँच गर्ने क्रममा विभिन्न सम्पर्क सूत्र फेला पारेपछि सोही आधारमा इनमको भूमिकाबारे अनुसन्धान अघि बढाएको छ । इनम पक्राउ परेसँगै उनको फोन, बैङ्किङ कारोबार, सम्पत्ति र विदेश आवतजावतसम्बन्धी विवरणसमेत अनुसन्धानको दायरामा ल्याइएको छ ।

यहीँबाट यो प्रकरणले नयाँ मोड लिएको छ । अनुसन्धान अब दुई व्यक्तिबीच फोन संवाद भयो कि भएन भन्नेमा मात्रै सीमित छैन । सम्पर्कको मूल उद्देश्य के थियो ? के उनीहरूबीच कुनै मुद्दा वा व्यावसायिक कारोबारसम्बन्धी गोप्य सूचना आदानप्रदान भएको थियो ? कसैलाई अनुचित लाभ पु¥याउने नीयताले निर्णय प्रभावित पार्ने प्रयास भयो रु वा आर्थिक लेनदेन नै भएको थियो ? यी प्रश्नको उत्तर नखुलेसम्म इनमको वास्तविक भूमिका प्रस्ट हुँदैन । तर, यिनै उत्तरहरू खोज्ने क्रममा उच्च पदस्थ व्यक्तिहरूको नाम मुछिनुले यो प्रकरणलाई थप पेचिलो बनाएको छ । 

इनमको सम्पर्कमा रहेको दाबी गरिएका प्रमुख व्यक्तिमध्ये पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पनि एक हुन् । जबरा कुनै सामान्य सार्वजनिक व्यक्तित्व होइनन् । उनी सर्वोच्च अदालतको नेतृत्व गरिसकेका व्यक्ति हुन् । न्यायपालिकाको सर्वोच्च पदमा पुगिसकेको पात्रको नाम बिचौलिया सञ्जाल वा विवादास्पद व्यवसायीसँग जोडिँदा त्यसको गम्भीरता स्वाभाविक रूपमा उच्च हुन्छ । जबराको विगत पनि विवादरहित छैन । प्रधानन्यायाधीश रहँदा उनको कार्यशैली, न्यायिक नियुक्ति र निर्णय प्रक्रियालाई लिएर थुप्रै प्रश्न उठेका थिए । 

अहिले फेरि दीपक भट्ट प्रकरणमै जबराको नाम सतहमा आएको छ । पक्राउ परेका जबराको मोबाइल परीक्षणका क्रममा इनमसँगको सम्पर्क सूत्र भेटिएपछि प्रहरी अनुसन्धान अघि बढेको हो । इनमको सञ्जालमा पदीय आचरणको विषयमा विगतमा कारबाही भोगिसकेका पूर्वन्यायाधीश नवराज थपलियाको नामसमेत जोडिन पुगेको छ । सुरक्षा निकायका अनुसार इनम र थपलियाबीच पनि निरन्तर संवाद हुने गरेको थियो । 

इनमको सम्पर्क सञ्जाल अदालतमा मात्रै सीमित छैन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री दीपक खड्का र व्यवसायीसमेत रहेका उमेश श्रेष्ठसँग पनि उनको हिमचिम पाइएको छ । राजनीतिक तथा व्यावसायिक वृत्तमा परिचित यी नामहरूसँग चिनजान हुनु आफैँमा अस्वाभाविक होइन । तर, मुख्य प्रश्न उनीहरूबीचको सम्बन्धको प्रकृति र त्यसको प्रयोजन के थियो भन्ने नै हो ।

सुरक्षा निकायको दाबीअनुसार व्यवसायी उमेश श्रेष्ठले ललितपुरमा सञ्चालन गरेको लिटल एन्जेल्स विद्यालयमा पढ्दादेखि नै इनमको चोलेन्द्रशमशेर जबराका छोरा सचिन्द्रशमशेर जबरासँग चिनजान भएको थियो । र, त्यहीँबाट सम्बन्धको दायरा फराकिलो बन्दै गएको हो । यस प्रकरणले सुरक्षा निकायको उच्च तहमाथि नै प्रश्न उठाएको छ । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालमाथि पदीय आचरणविपरीत गतिविधिमा संलग्न रहेको आरोप लागेपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले उनलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिसकेको छ । दाहालको नाम इनमसँग जोडिनुको पछाडि पनि दीपक भट्टसँग सम्बन्धित चलखेल नै मुख्य कारण मानिएको छ । सुरक्षा निकायका अनुसार दाहाल र इनमबीच सम्पर्क रहेको, उनीहरूले भट्टको विषयमा संवाद गरेको र इनमलाई सहयोग पुग्ने सूचना आदानप्रदान भएको आशङ्का गरिएको छ ।

यस प्रकरणमा सबैभन्दा गम्भीर आरोप प्रधानमन्त्री वालेन्द्र शाहको बालुवाटार र सिंहदरबार आवतजावतसम्बन्धी गोप्य सूचना इनमसम्म पु¥याइएको भन्ने हो । यदि पदीय जिम्मेवारीको दुरुपयोग गरी यस्तो संवेदनशील सूचना उपलब्ध गराइएको प्रमाणित भएमा, यो व्यक्तिगत सम्बन्धको सीमाभन्दा बाहिर जानेछस जसले राज्यको सुरक्षा र उच्च पदाधिकारीको गोपनीयतामाथि नै गम्भीर थ्रेट खडा गर्छ ।

एआईजीजस्तो उच्च पदस्थ अधिकारीमाथि प्रश्न उठ्नु सामान्य विषय होइन । सुरक्षा निकायको नेतृत्वले आफ्नो पदको गरिमा, गोपनीयता र निष्पक्षता जोगाउनुपर्छ । यदि कुनै अधिकारीले पदीय जिम्मेवारीभन्दा बाहिर गएर अनुचित लाभ पु¥याएको ठहरिएमा पदको उचाइका आधारमा उन्मुक्ति पाउनु हुँदैन ।

इनमको सम्पर्क सञ्जालको केन्द्रमा देखिएका अर्का पात्र हुन्-विवादास्पद व्यवसायी दीपक भट्ट । भट्टमाथि बिमा कारोबार, सम्पत्ति शुद्धीकरण र अन्य वित्तीय अपराधसम्बन्धी अनुसन्धान तथा मुद्दा चलिरहेको छ । उनी थुनामै रहेका बेला पनि बाहिरबाट चलखेल भएको आशङ्काले अनुसन्धानलाई नयाँ मोड दिएको छ । कारागारभित्रको गतिविधि र बाहिरका व्यक्तिहरूसँगको सम्पर्कबारे शङ्का उत्पन्न भएपछि सम्बन्धित निकायले थप निगरानी र छानबिन तीव्र पारेको छ । यी सबै आरोप अदालतबाट प्रमाणित हुन बाँकी नै छन् । तर, वित्तीय अपराधसँग मुछिएका व्यक्तिको सम्पर्क सञ्जाल र सम्भावित प्रभावबारे अनुसन्धान गर्नु वित्तीय अपराध नियन्त्रणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण हुन्छ । 

अनुसन्धानका क्रममा इनमको वैदेशिक भ्रमण विवरण पनि सतहमा आएको छ । गृह मन्त्रालय स्रोतका अनुसार उनले पछिल्ला वर्षहरूमा भारत र जर्मनीको पटक–पटक यात्रा गरेका थिए । उनी सन् २०२१ सेप्टेम्बरमा जर्मनी गएर करिब दुई वर्षपछि नेपाल फर्किएका थिए । त्यसपछि पुनः जर्मनी र भारतको यात्रा गरेका उनी पछिल्लो पटक भारत जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

अब अनुसन्धानले प्रमाणका कडीहरू जोड्नुपर्नेछ । इनम र जबराबीचको सम्पर्क, जबरा र भट्टसँग सम्बन्धित संवाद, इनम र दाहालबीचको सम्बन्ध तथा सम्भावित आर्थिक कारोबारबीच वास्तविक तार जोडिएको छ कि छैन भन्ने स्पष्ट हुनुपर्छ । यदि यी केवल व्यक्तिगत चिनजान मात्र हुन् भने त्यसलाई सोही रूपमा बुझ्नुपर्छ । तर, गैरकानुनी काम भएको प्रमाण भेटिएमा कसैलाई पनि कानुनको दायरामा ल्याइनुपर्छ । 

प्रकरणको चुरो कुरो, इनम प्रकरणमा अहिले सबैभन्दा धेरै चर्चा उनको ‘कनेक्सन’कै छ । कोसँग फोन सम्पर्क थियो रु कसलाई भेटे रु कुन नेता वा अधिकारीसँग सम्बन्ध थियो रु भन्ने विषयले चासो बढाएको छ । तर, उनीसँग जोडिएका सबै व्यक्तिको भूमिका एउटै नहुन सक्छ । कसैको सम्बन्ध व्यक्तिगत, कसैको व्यावसायिक र कसैको भूमिका अनुसन्धानयोग्य हुन सक्छ । यी भिन्नता छुट्याउनु नै निष्पक्ष अनुसन्धानको मुख्य आधार हो ।

राज्यको शक्ति पदमा मात्र होइनस सूचना, सम्पर्क र प्रभावमा पनि हुन्छ । तर, यस्तो शक्ति पारदर्शी नियमभन्दा बाहिर प्रयोग हुन थालेमा संस्थाहरूको विश्वसनीयता कमजोर बन्छ । इनम दोषी हुन् या निर्दोष, त्यो निष्कर्ष प्रमाणले दिनेछ । उनीसँग सम्पर्कमा रहेका सबै व्यक्ति एउटै कसुरमा संलग्न छन् भन्न मिल्दैन । तर, सम्पर्कको आडमा कानुनी प्रक्रिया प्रभावित पार्ने प्रयास भएको प्रमाणित भएमा कसैको पद, प्रतिष्ठा वा राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिइनु हुँदैन ।

प्रश्न इनमले कति जना शक्तिशाली व्यक्ति चिनेका थिए भन्ने होइन, त्यो चिनजानबाट उनले के गरे भन्ने हो । प्रश्न राज्यका ठूला पदमा को बसेको छ भन्ने मात्र होइन, ती पदमा बसेकाहरूले आफ्नो अधिकार र जिम्मेवारी कसरी प्रयोग गरे भन्ने हो । अब, फोन कल डिटेल सार्वजनिक गरेर मात्र पुग्दैन, सम्पर्कको उद्देश्य खुल्नुपर्छ । नाम चर्चामा ल्याएर मात्र हुँदैन, कसुरको प्रमाण प्रस्तुत हुनुपर्छ । पक्राउ गरेर मात्र हुँदैन, अनुसन्धानको निष्कर्ष निष्पक्ष र विश्वसनीय हुनुपर्छ ।

अन्ततः इनम प्रकरणको असली परीक्षा उनी कति शक्तिशाली व्यक्तिसँग जोडिएका थिए भन्ने होइन, ती सम्बन्धको दुरुपयोग गरेर कानुनभन्दा माथि पुग्ने प्रयास भएको थियो कि थिएन भन्ने हो । यदि भएको थियो भने कारबाही हुनुपर्छस यदि थिएन भने आरोपको घेरामा परेकाहरूले न्याय पाउनुपर्छ। कानुनी राज्यको वास्तविक परीक्षा नै यही हो ।

प्रतिक्रिया दिनुहोस्