Logo
Logo

विद्या भण्डारीले सल्लाह गरेर अगाडि बढ्नु भएको भए राम्रो हुने थियो


थममाया थापा, स्थायी कमिटी सदस्य, नेकपा (एमाले)

2.1k
Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै चर्चाको शिखरमा छिन् । सात वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेर शिलतनिवासबाट बाहिरिएको करिब दुई वर्षपछि भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । यद्यपि, उनले सदस्यता नवीकरण भने डेढ वर्ष अघि नै गरिसकेकी थिइन् ।

यसअघि पनि भण्डारी एमालेकी एक सक्रिय नेतृ थिइन् । उनले दुई कार्यकाल एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन् । अर्कोतर्फ उनी एमालेको राजनीतिक आधार जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता स्व. मदन भण्डारीकी धर्मपत्नीसमेत हुन् ।

मदन भण्डारीले भन्ने गर्थे–‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् ।’ उक्त भनाइ अहिले ठ्याक्कै मिलेको छ । राजनीतिमा लामो सहकार्य गरेका भण्डारी र केपी शर्मा ओली फरक फरक कित्तामा पुगेका छन् । भण्डारीको आगामी राजनीतिक यात्रा रोक्न ओलीले अनेकौँ षडयन्त्र गरेका छन् । ओली र उनी पक्षीय नेताहरू भण्डारीको विरोधमै उभिएका छन् । त्यति मात्रै होइन, भण्डारीको पक्षमा बोले कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । एमाले नेताहरूलाई अहिले तौलिएर बोल्नुपर्ने बाध्यता छ ।

पत्रकार सम्मेलनमा भण्डारीले आफू पछि नहट्ने अडान दोहो¥याएपछि ओलीले केन्द्रीय सदस्यहरूलाई बालुवाटारमै बोलाएर छलफल गर्न थालेका छन् । प्रदेशगत रूपमा समूहमा र व्यक्तिगत रूपमा समेत ओलीले केन्द्रीय सदस्यहरूसँग कुरा गरिरहेका छन् । राजनीति निर्मम हुन्छ भन्ने उदाहरण फेरि एक पटक ओलीले दिएका छन् । भण्डारीको सदस्यतालाई निरन्तरता नदिने निर्णय गराएर ओलीले एमालेमा ओलीको विकल्प ओली मात्रै हुन भन्ने सन्देश पनि दिएका छन् । ओलीले भण्डारीको सदस्यता रोक्ने मात्रै होइन, आफूलाई छेक्ने ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा पनि हटाइदिएका छन् । र, उनले आजीवन अध्यक्ष बन्ने संकेत गरेका छन् ।

पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज गर्ने एमालेको पछिल्लो निर्णय, भण्डारीको अडान र अबको सम्भावनाबारे अखिल नेपाल महिला संघको नेतृत्व समेत सम्हालेकी एमाले स्थायी कमिटी सदस्य थममाया थापासँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको राजनीतिमा फर्किने बाटो बन्द गरेको हो कि फर्किने बाटो अझै खुल्लै छ ?
गत केन्द्रीय कमिटी बैठकले राष्ट्रको सर्वोच्च पदमा पुगेको व्यक्ति पार्टी राजनीतिमा फर्किनु हुँदैन, सम्मानित स्थानमै बस्नुपर्छ भन्ने निर्णय ग¥यो । राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउनु व्यावहारिक हुँदैन भन्ने बैठकको निष्कर्ष हो । सोहीअनुसार आगामी विधान महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुन्छ । विधान महाधिवेशनले आवश्यक निर्णय गर्छ ।

पूर्वराष्ट्रपति भण्डारीले त पत्रकार सम्मेलन नै गरेर आफ्नो पार्टी सदस्यता अवैधानिक ढंगले हठात् हटाउने काम भएको गुनासो गर्नुभएको छ । र, सक्रिय राजनीतिबाट पछि नहट्ने अडान राख्नुभएको छ नि ?
पूर्वराष्ट्रपति भण्डारी राजनीतिक व्यक्ति हो । उहाँले बाँकी जीवन पनि राजनीतिमै बिताउँछु भन्नुभएको छ । त्यही कारण उहाँले सक्रिय राजनीतिमा आउने कुरा गर्नु भएको हो । पार्टी बैठकमा सदस्यहरूले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा नआई सम्मानित स्थानमै बस्नुपर्छ भन्ने धारणा राखेपछि पार्टीले निर्णय गरेको हो । पूर्वराष्ट्रपतिले राजनीतिमै सक्रिय हुन्छु भन्दा कसैले छेकेर छेकिने कुरा भएन । त्यो उहाँमा भर पर्ने कुरा हो । एमालेको कमिटीमै बसेर सक्रिय हुने कुराचाहिँ केन्द्रीय कमिटीको निर्णयले नमिल्ने भयो ।

डेढ वर्षअघि नवीकरण गरेको सदस्यताको विषयमा अहिले आएर विवाद गर्नु कत्तिको जायज हो ?
यस विषयमा उहाँको पार्टी अध्यक्षसँग पहिला पनि सरसल्लाह भएकै होला । सल्लाह नभई उहाँ (विद्या भण्डारी) अगाडि बढ्नु भयो भन्ने मलाई लाग्दैन । अहिले आएर पार्टीले एउटा निर्णय गरेको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि सरसल्लाह गरेरै जाँदा राम्रो हुन्छ ।

४५ वर्षको सदस्यता नै खारेज गरेर निषेध नै गरिसकेको अवस्थामा अब त्यो सम्भावना बाँकी छ र ?
राजनीतिमा असम्भव भन्ने त केही पनि हुँदैन । छलफल गरेरै जाँदा राम्रो हुन्छ । पार्टी नेतृत्वसँग छलफल गरेर समस्या समाधान गर्न सकिन्छ ।

पूर्वराष्ट्रपति भण्डारीले पहिला सदस्यता नवीवरण गर्नुभयो, त्यतिबेला ठिकै भयो । तर, जब भण्डारी अध्यक्ष हुने चर्चा चल्न थाल्यो र महोल पनि बन्दै गयो, त्यसपछि सदस्यता नै हटाइएको हो नि ? अब मदन भण्डारीको परिवारविनाको एमाले बनाउन लाग्नुभएको हो ?
त्यस्तो होइन, सर्वोच्च पदमा पुगेको व्यक्ति पार्टीको राजनीतिमा नफर्किँदा राम्रो भन्ने मात्रै कुरा हो । उहाँलाई सर्वोच्च पदमा पनि एमालेले नै पु¥याएको हो । त्यसकारण पार्टीको कुरा पार्टीभित्रै सरसल्लाह गरेर टुङ्ग्याउँदा राम्रो हुन्छ । एमाले मदन भण्डारीले बनाएको पार्टी हो । उहाँको परिवारविनाको पार्टी बनाउने भन्ने त प्रश्नै आउँदैन नि । यसले भोलि के प्रभाव पर्छ भन्ने कुरालाई हेरेर सरसल्लाहमै अगाडि बढ्नुपर्छ । विधि, पद्धतिअनुसार अगाडि बढ्दा सबै समस्या समाधान हुन्छन् ।

केन्द्रीय कमिटीले गरेको निर्णयलाई विधान महाधिवेशनले सच्याउन सक्छ त ?
विधान महाधिवेशनमा विधानकै बारेमा छलफल हुने हो । केन्द्रीय कमिटीले त प्रस्तावको रूपमा मात्रै लाने हो । निर्णय विधान महाधिवेशनले नै गर्छ । कसरी राम्रो हुन्छ, त्यहीअनुसार अगाडि बढ्नुपर्छ ।

विद्या भण्डारीको सदस्यता कायम राखौँ, उहाँलाई काम गर्न दिऔँ भनेर विधान महाधिवशेनले भन्न सक्छ ?
त्यो त विधान महाधिवेशनको कुरा भयो । महाधिवेशनभन्दा ठूलो निकाय पार्टीमा अरू छैन । आवश्यकताअनुसार निर्णय गर्न महाधिवेशन स्वतन्त्र रहन्छ ।

एमालेको रोकेको अवस्थामा पूर्वराष्ट्रपति भण्डारी मदनको विचार बोकेर छुट्टै अगाडि बढ्दा एमालेलाई फाइदा हुन्छ त ?
त्यस्तो अवस्थाले त कसैलाई पनि राम्रो गर्दैन । उहाँ (विद्या)को लागि पनि राम्रो हुँदैन, पार्टीको लागि पनि राम्रो हुँदैन । सरसल्लाह गरेर समाधान निकाल्नुपर्छ । उहाँ (विद्या)ले पत्रकार सम्मेलनमा पनि पार्टी हितकै पक्षमा बोल्नुभएको छ । पार्टीलाई अहित हुने कुनै कुरा गर्नुभएको छैन । अब कसरी जाने भन्ने विषयमा चाहिँ पार्टीमा छलफल गरेर टुङ्ग्याउनुपर्छ भन्ने लाग्छ ।

मदन–विद्या भण्डारीकी छोरी उषाकिरणले त एमालेलाई नैतिक समर्थन पनि गर्न नसकिने अवस्था भयो भनेर लामो फेसबुक स्ट्याटस नै लेख्नुभयो । कस्तो भावनात्मक पीडा छ हेर्नुस् त ?
क्रियाको प्रतिक्रिया दिने हिसाबले त्यसरी उहाँले लेख्नुभयो होला । एमाले निर्माणमा मदन भण्डारीको लिगेसी जोडिएको छ । भावनामा चोट पुग्ने काम हामीले गर्नुहुँदैन । उहाँको भावनामा चोट नपरोस् भन्नेमा सचेत हुनुपर्छ । उहाँ त इतिहाससँग पनि जोडिनुभएको छ । कसरी सेफल्याण्डिङ गर्ने भन्ने कुरा पार्टी नेतृत्वसँग बसेरै टुङ्ग्याउनुपर्छ ।

विद्या भण्डारीले नेपालको महिला आन्दोलनमा ठूलो योगदान पु¥याउनुभयो । अनेमसंघको अध्यक्ष भएर पनि लामो समय चलाउनुभयो । तपाईंले पनि अनेमसंघको नेतृत्व गर्नुभयो । एउटा अब्बल महिलालाई अगाडि बढाउन पार्टी किन बाधक भयो ?
महिलालाई अगाडि बढाउनुपर्छ भन्नेमा हामी सदैव लागिरहेका छौँ । महिला भएकै कारण पार्टीले अन्याय गर्दैन, गर्न पनि मिल्दैन । अहिले मात्रै भएको के हो भने, राष्ट्रपति भइसकेको व्यक्तिलाई सम्मानित भएरै बस्न दिऔँ भन्ने मात्रै हो ।

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः सक्रिय राजनीतिमा फर्किन संविधानले रोकेको छैन, पार्टी विधानले रोकेको छैन । माओवादीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पुनः सक्रिय राजनीतिमा फर्कायो । महिला भएकै कारण एमालेले सक्रिय राजनीतिमा फर्किनबाट रोक्यो भन्दा अन्यथा हुन्छ ?
सबै पार्टीले उस्तै किसिमका निर्णय गर्छन् भन्ने हुँदैन । संविधानले प्रष्ट उल्लेख नगरेको हुनाले राजनीतिमा पुनः सक्रिय हुने कि नहुने भन्ने कुरा स्वयं व्यक्तिमा भर पर्ने कुरा हो । त्यसमा पार्टीले सहजीकरण गर्ने कुरा हो । अहिलेलाई एमालेले पूर्वराष्टपति सक्रिय राजनीतिमा नआएकै राम्रो हुन्छ भन्ने निष्कर्ष निकालेको हो । महिला भएकै कारण रोकिएको चाहिँ होइन । महिलालाई सर्वोच्च पदमा पनि हामीले नै पु¥याएको हो । सर्वोच्च पदमा पुगेपछि भोलि आएर पार्टी काम गर्न मिल्ने कि नमिल्ने, उहाँको स्ट्याटस के हुने भन्ने विषयमा त्यतिबेलै पार्टीमा छलफल भएको भए अहिलेको समस्या देखिँदैन थियो ।

सुरुमा भण्डारीले सदस्यता नवीकरण गरेर जाँदा एमालेलाई आपत्ति भएन । जब, भावी अध्यक्षको रूपमा चर्चा भयो, त्यसपछि अध्यक्ष केपी ओलीलाई मलाई नै हराइदिने हो कि भनेर टाउको दुखेको त होइन ?
उहाँ (विद्या)सँग पहिला कुरा हुँदा पार्टी नेताहरूसँग सरसल्लाह गरेरै अगाडि बढ्ने हो भन्नुभएको थियो । उहाँहरू बीचमा सल्लाह भयो कि भएन मलाई थाहा भएन । उहाँले सल्लाह नगरी अगाडि बढ्न खोज्दा अप्ठेरो भयो भनेर अध्यक्षले अस्तिको बैठकमा भन्नुभयो ।

सरसल्लाह गरेर फेरि विद्या भण्डारीको सदस्यता कायम हुन सक्छ त ?
पार्टी सदस्यता राखे पनि नराखे पनि सरसल्लाहमा हुनुपर्छ । पूर्वराष्ट्रपतिलाई मानसम्मान गरेर जानुपर्छ । हामीले गणतन्त्र गौरवबाट उहाँलाई सम्मान पनि गरिसकेका छौँ । उहाँ त हाम्रो गहना हो नि ।

विद्या भण्डारीले केपी ओलीलाई सहयोग गर्दै आउनुभयो । ओली अध्यक्ष र प्रधानमन्त्री हुनमा भण्डारीको सहयोगले काम गरेको छ । तर, अहिले भण्डारीप्रति नै ओली किन अनुदार देखिनुभयो ?
उहाँहरू एउटै आन्दोलनबाट आउनुभएको हो । उहाँहरूले लामो सहकार्य गर्नुभयो । एकले अर्कालाई सहयोग गरेर नै यहाँसम्म आइपुग्नुभएको हो । अहिले उहाँको सदस्यता खारेज हुनुपर्छ भन्नेभन्दा पनि राष्ट्रको सर्वोच्च पदमा पुगेको व्यक्ति पार्टी काममा फर्किदा उहाँको मानसम्मान घट्छ कि भन्ने कोणबाट बहस भएको हो । पार्टी सदस्य भएपछि कमिटीमा बस्नुप¥यो, कमिटीमा बसेपछि भोलि वादविवाद होला । सम्मानित व्यक्तित्वलाई किन विवादमा पार्ने भन्ने कोणबाट विश्लेषण भएको हो ।

खासमा ओलीको आजीवन अध्यक्ष बन्ने सोचमा बाधा पुग्ने भएर संविधान र पार्टी विधानभन्दा बाहिर गएर एमालेले निर्णय गरेको विश्लेषण भइरहेको छ नि ?
विश्लेषण त आ–आफ्नो विचारले हुने कुरा भयो । लोकतान्त्रिक गणतन्त्रका विचार राख्ने र विश्लेषण गर्ने अधिकार सबैलाई छ । जहाँसम्म एमालेको कुरा छ, हामी लोकतान्त्रिक मूल्य, मान्यताअनुसार चल्दै आएका छौँ, र अब पनि त्यसरी नै चल्छौँ ।

अध्यक्षको विपक्षमा उभिनेहरूलाई फेरि ‘भीम रावल’ बनाइदिनेसम्मका धम्की आउलान भन्ने डर पनि होला ?
यहाँ पक्ष र विपक्षको कुरा छैन । पार्टी कमिटीमा सदस्यलाई लागेको विषय राख्ने हो । कतिपय विषयमा सहमति र कतिपय विषयमा सहमति पनि हुन सक्छन । बैठकमा बहुमत र अल्पमत पनि हुन सक्छ । फेरि पनि पार्टीको निर्णय भने मान्नैपर्ने हुन्छ ।

तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईँहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो । अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भनेपनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोहीअनुरुप कोसिस गरियो । तर, विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पु¥याउनेरहेछन् । र नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद !

(विद्या भण्डारीलाई पार्टी राजनीतिमा फर्किन रोक लगाउने एमालेको निर्णयपछि जेठी छोरी उषाकिरणको फेसबुक स्ट्याटस ।)

प्रतिक्रिया दिनुहोस्