काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची बनेको टिप्पणी गरेका छन्।

राष्ट्रियसभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन्। देशमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको उनको आरोप छ । उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी दिए ।
उनले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाए।
शर्माले भने, ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ। भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ। सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन्। यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन्। आउने पुस्ताको भविष्य झन् डामाडोल हुँदै गइरहेको छ।’
भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रक्रिया शुरु गर्न सरकारको ध्यानाकर्षण गराए।














