Logo
Logo

निर्मला हत्या प्रकरण : ओबामाले जस्तै प्रधानमन्त्री ओलीले माफी माग्लान् ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ भदौ । निर्मला पन्तको हत्याकाण्ड दुई वर्षदेखि चर्चामा छ । हालै अदालतको फैसलाले सो प्रकरण थप बहसको विषय बनेको छ । फैसलाको पूर्ण पाठमा न्यायाधीशले उल्लेख गरेका विषयवस्तुले गर्दा यो प्रकरणमा नयाँ बहस सिर्जना भएको हो ।

जिल्ला अदालत कञ्चनपुरले त्यतिबेला प्रहरीविरुद्ध दायर भएको मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छ । जसमा प्रहरीले सफाई पाएका छन् । तर, उनीहरुलाई सफाई मात्र दिने होइन, राज्यले माफी माग्नुपर्ने आसय समेत व्यक्त गरिएको छ ।

यो फैसलाअनुसार अब के प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्दाेष प्रहरीसँग सार्वजनिकरुपमा माफी माग्लान् ? फैसला पढेपछि धेरैले यही प्रश्न गर्न थालेका छन् । तत्कालिन प्रहरी नेतृत्वमाथि त कारबाहीकै माग समेत भएको छ । प्रहरी नेतृत्वकै क्षमता अभावका कारण यसरी प्रहरीविरुद्ध नै झुटो मुद्दा दायर भएको थियो । जसले प्रहरी कर्मचारीको मनोबल गिरायो भने र सरकारलाई नै बदनाम गरायो ।

सो मुद्दामा एउटा अन्तर्राष्ट्रिय नजिरलाई समेत उल्लेख गरिएको छ । अमेरिकमा एक व्यक्तिले २० वर्षे जेल बसेपछि सफाई पाएका थिए । सो घटनामा राज्यको गल्ती भएको भन्दै तत्कालिन राष्ट्रपति बाराक ओबामाले सार्वजनिक रुपमा माफी मागेका थिए । त्यही प्रसंगलाई न्यायाधीश गोपाल प्रसाद बाँस्तोलाले फैसलामा उल्लेख गरेका छन् । प्रहरीलाई हुचवाकै भरमा मुद्दा चलाएको भन्दै माफी माग्नुपर्ने आशस फैसलामा उल्लेख गरिएको छ । सो घटनाको अनुसन्धानमा संलग्न प्रहरीमाथि यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा दायर भएको थियो । दुवै मुद्दाको गत साउन १५ गते फैसला भएको हो । दुवै मुद्दामा प्रहरीलाई सफाई मात्र दिइएको छैन, राज्यले नै माफी माग्नुपर्ने विषय समेत औंल्याइएको छ ।

यातनासम्बन्धि मुद्दाको फैसलाको पूणपाठमा अभियोजनमै त्रुटी भएको उल्लेख छ । फैसलामा भनिएको छ,‘एउटा गजबको तथ्य के देखियो भने जिम्मेवार प्रहरी अधिकृतले कानून बमोजिम पक्राउ गरी हिरासतमा राखिएको व्यक्तिलाई यी प्रतिवादीहरुले नै यातना दियौ भनी राज्यकै अंगबाट मुद्दा चलाइएको छ । अपवादमा त्यस्तो घटना पनि हुन सक्ला । तर, प्रस्तुत आरोपमा अफवाहको पछि लागेर हुँदै नभएको मनगढन्ते कुराहरुलाई लिएर आफ्नो कर्तव्य पालनामा खटेका र राष्ट्रको सेवामा रगत पसिना बगाएका जिम्मेवार प्रहरी अधिकृत उपर निजहरुको मान प्रतिष्ठा र वृत्ति विकासमै गम्भीर असर पर्ने गरी अभियोजन गरेको देखियो ।’

त्यही अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रसंग छ । ‘केही वर्षअघि अमेरिकामा २० वर्ष भन्दा बढी जेलमा रहेका एक अभियुक्तलाई माथिल्लो अदालतले निदार्षे ठह¥याएपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सो मुद्दामा अध्ययन र अनुसन्धानको क्रममा गम्भीर त्रुटी भएको भनी राज्यको तर्फबाट सार्वजनिकरुपमा माफी मागेको कुरा सञ्चारमाध्यममा देखिएको थियो,’ फैसलामा भनिएको छ ।

कर्तव्य पालनामा खटिएका र कानूनबमोजिम जिम्मेवारी वहन गरिरहेको व्यक्तिहरु उपर बजारु हल्ला, तथ्यहीन र प्रतिवेदन पुष्टि नहुने झुट्टा एवं मनगढन्ते कुराका आधारमा आफ्नै प्रहरी अधिकृत उपर अभियोजन गर्ने, गर्न निर्देशन दिने व्यक्तिहरुले उक्त राष्ट्रपतिले गरेको व्यवहारको मनन र अनुशरण गर्न सक्नुपर्छ भन्ने कुरासमेत फैसलामा उल्लेख गरिएको छ । फैसलाको अन्त्यमा भनिएको छ,‘तब मात्र राष्ट्रसेवकले उच्च मनोबल र आत्मसम्मानका साथमा कर्तव्य पालनामा खट्न सक्ने हुन्छ ।’

यो फैसलाअनुसार अब के प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्दाेष प्रहरीसँग सार्वजनिकरुपमा माफी माग्लान् ? फैसला पढेपछि धेरैले यही प्रश्न गर्न थालेका छन् । तत्कालिन प्रहरी नेतृत्वमाथि त कारबाहीकै माग समेत भएको छ । प्रहरी नेतृत्वकै क्षमता अभावका कारण यसरी प्रहरीविरुद्ध नै झुटो मुद्दा दायर भएको थियो । जसले प्रहरी कर्मचारीको मनोबल गिरायो भने र सरकारलाई नै बदनाम गरायो ।

त्यतिबेला पक्राउ परेका आरोपी दिलीप विष्टलाई पक्राउ गरी यातना दिएर अपराध कबोल गर्न लगाइएको भन्दै मुद्दा दायर भएको थियो । जबकि त्यसमा विष्ट परिवारको आरोप बाहेक कुनै प्रमाण थिएन । विष्टको नियमित स्वास्थ्य परीक्षण गरिएकोमा शरिरमा कुनै चोट पटक थिएन । तत्कालै उजुरी नगर्नुलाई पनि फैसलाको आधार बनाइएको छ । जिल्ला सरकारी वकिल कार्यालयमै बयान भएको र त्यसको सिसीटिभी फुटेजसमेत भएकाले बयानको क्रममा यातना दिएको कुनै आधार नभएको फैसलामा उल्लेख छ ।

त्यस्तै सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दामा पनि प्रमाण नष्ट गरेको भन्न नसकिने उल्लेख छ । सुरुवाल धोइएको, फिंगर प्रिन्ट नलिइएको, नक्कली प्रमाण राख्न खोजिएको जस्ता आधारमा यो मुद्दा चलाइएको थियो ।

फिंगर प्रिन्ट नउठाएकोमा शवमा पानीमा भएकाले फिंगरप्रिन्ट आउन नसक्ने फैसला उल्लेख छ । मृतकको तल्लो भाग नांगो हुँदा सो छोप्न हिलो सुरुवाल पानीमा पखाली चोपल्ने कार्य स्वभाविक रहेको फैसलामा उल्लेख छ । प्रहरी जवान चाँदनी साउनले सुरुवाल धोएको विषयलाई लिएर ठूलो हंगामा गरिएको थियो ।

अर्काे अभियोग सर्टको टुक्रा च्यातेर घटनास्थलमा देखाइएको विषय छ । यस विषयमा फैसलामा भनिएको छ, ‘च्यातिएको सर्टको खल्ती तत्काल घटनास्थलमा फेला नपरेकोमा पछि कसरी फेला प¥यो भन्ने प्रश्न गर्न सकिन्छ । यद्यपि झुट्टा काम गर्नु प्रहरीको व्यवसायीक धर्म होइन र यो विषय मूल मुद्दालाई असर पार्ने विषय रहेकाले तत्कालै ठोसरुपमा बोल्न नमिल्ने यसरी थप भएका प्रमाणबाट दाबी गरिएजस्तो प्रमाण लोपको अवस्था नहुने र दाबी गरिएका कानूनले यस्ता थप बरामतीको कार्यलाई कसुर नमानेको अवस्था छ ।’

नैतिक संकटमा प्रहरी प्रवक्ता

यसरी प्रहरीविरुद्ध मुद्दा दायर हुँदा कञ्चनपुरको एसपीमा कुबेर कडायत थिए । उनकै नेतृत्वमा प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो । अहिले झुटा मुद्दा दायर भएको अदालतले ठहर गरेपछि कडायतमाथि समेत नैतिक प्रश्न उठेको छ । किनकि, उनी अहिले प्रहरीको केन्द्रीय प्रवक्ता छन् ।

हुन त त्यतिबेला प्रहरी प्रधान कार्यालयले लिखितरुपमा नै ती प्रहरीविरुद्ध मुद्दा चलाउन निर्देशन दिएको थियो । तत्काल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा त्यसरी भीडको दबाबका भरमा मुद्दा दायर भएको थियो । त्यसको पछाडि तत्कालीन एआईजी धिरु बस्नेतको पनि भूमिका थियो । जसले आफ्नै प्रहरीविरुद्ध झुटो प्रतिवेदन बनाएर फसाउने काम गरे । जसमा महानिरीक्षक खनालको साथ थियो ।

फेरि पक्राउ पर्लान् दिलीप ?

यो घटनामा दिलीप नै अभियुक्त भएको निचोडमा प्रहरी नेतृत्व पुगेको छ । तर, उनलाई पुनः पक्राउ गर्न भने प्रहरी डराएको छ । प्रहरीविरुद्ध परेको मुद्दाको फैसला भएपछि अब उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप सहज भएको छ ।

परिस्थितिजन्य प्रमाणले उनी नै अभियुक्त भएको प्रष्ट हुन्छ । उनलाई त्यो दिन त्यही बाटो हिँडेको भनेर देख्नेले समेत कागज गरिदिएका छन् । तर, उनलाई पक्राउ गर्न नदिन एक समूह सक्रियताको साथ लागेको छ । निर्मलाको आमाले पनि दिलीपलाई नै पक्राउ गरी कारबाही गर्न माग गरेकी छिन् । दिलीपले पक्राउ परेपछि भनेको विवरण र घटनास्थलको अवस्था ठ्याक्कै मिल्नुले पनि घटनामा उनको संलग्नता पुष्टि हुन्छ । प्रहरी प्रधान कार्यालयले सो घटना टुंग्याउने तयारी गरिरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्