Logo
Logo

महामारीमा परदेशका नेपालीलाई ठगी र यातना : अमेरिकाबाट नेपाल आउन २ लाख ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ भदौ । संकटको बेला सरकार प्रभावकारी नहुँदा बिदेशीएका नेपालीहरुले यातना सहनुका साथै ठगिनुपरेको छ । अहिले उद्धारका नाममा नेपालीहरु ठगीमा परेका छन् ।

देश विदेशमा रहेका नेपालीले पठाएकै रेमिटेन्सले देशको अर्थतन्त्र धानेको छ । तर, संकटको बेला उनीहरुले राज्यको महशुस गर्न सकेका छैनन् । सरकारले करिब ५० हजार नेपालीलाई उद्धार गरिसकेको छ । तर, पनि उद्धारलाई व्यवस्थित बनाउन नसक्दा आफ्नै देश फर्किँदा समेत नेपालीहरु ठगिएका छन् ।

गत १८ अगष्टमा दुई सय ६० जना नेपाली युएईबाट नेपाल आउनका लागि विमानस्थल पुगेका थिए । तर, कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले उद्धार रोक्ने निर्णय ग¥यो । जसकारण यूएई पुगिसकेको नेपाल एयरलाइन्सको जहाज रित्तो फर्कियो । उता विमानस्थलमा पुगेका नेपाली युवाहरुको बिचल्ली भयो । जुन विषयलाई लिएर उपप्रधानमन्त्री ईश्वर पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईबीच विवाद नै भयो । आइतबार फेरि नेपाल एयरलाइन्सको जहाज दुबई पुगेर उनीहरुलाई ल्याएको थियो ।

यो घटनाले बिदेशमा रहेका नेपालीप्रति सरकार कति असंवेदनशील छ भन्ने देखाउँछ । अहिलेको समय कोभिड–व्यवस्थापनको जिम्मेवारी पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार सबैतिर समस्या बढेको छ ।

ठगीदेखि यातनासम्म

कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने र त्यस्तो उडान दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय गरेको छ। त्यस प्रयोजनका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयलाई उडान तालिका बनाउने जिम्मेवारी दिइएको छ ।

सरकारी निर्णयअनुसार पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेशिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयानुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ ।

बैठकले पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन नपाइने निर्णय गरेको छ ।

नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरिनेछ । यसरी आउने यात्रुको ७२ घण्टाभित्र पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौँमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

तर यसरी उद्धार उडानहरुमा टिकट भने महंगो छ । अमेरिकाबाट नेपाल आउन करिब दुई लाख रुपैयाँ खर्च हुने अवस्था छ । जबकि, नियमित अवस्थामा राउन्ड टिकटको करिब एक लाख थियो । खाडी देशहरुबाट समेत पहिलेभन्दा टिकटको मूल्य दोब्बर राखिएको छ ।

अर्काेतर्फ नेपाल फर्किएर पनि एक साता होटल क्वारेन्टाइनमै बस्नुपर्ने भनिएको छ । होटलको न्यूनतम शुल्क एक हजार पाँच सय रुपैयाँ तोकिएको छ । टिकट काट्ने बेलामा नै होटलको शुल्क तिर्नुपर्ने नियम बनाइएको छ । जसबाट विपद्को समयमा समेत आफुहरुलाई राज्यले शोषण गर्न लागेको नेपालीहरुको गुनासो छ ।

सर्वाेच्च अदालतले बिदेशमा समस्यामा परेका नेपालीलाई कल्याणकारी कोषको रकमबाट उद्धार गर्न आदेश दिएको थियो । सो आदेश समेत कार्यान्वायन भएको छैन ।

देश विदेशमा रहेका नेपालीले पठाएकै रेमिटेन्सले देशको अर्थतन्त्र धानेको छ । तर, संकटको बेला उनीहरुले राज्यको महशुस गर्न सकेका छैनन् । सरकारले करिब ५० हजार नेपालीलाई उद्धार गरिसकेको छ । तर, पनि उद्धारलाई व्यवस्थित बनाउन नसक्दा आफ्नै देश फर्किँदा समेत नेपालीहरु ठगिएका छन् ।

प्रतिक्रिया दिनुहोस्