Logo
Logo

ओलीका सल्लाहकारमाथि गम्भीर आरोप


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राजदूतावासबाट तीन वर्ष अघि १५ लाख रुपैयाँ लिएको खुलासा भएको छ । उनले उक्त रकम नेपाल भारत सम्बन्धको बारेमा रिसर्च गर्ने भन्दै लिएका हुन् । भट्टराईले नबिल बैंकमार्फत् उक्त रकम बुझेको हस्ताक्षरसहित विवरणसमेत ग्लोबल वाच एनालिसिसले सार्वजनिक गरेको छ ।

१५ लाख बुझेको उक्त प्रोजेकट १५ अक्टोबर सन् २०१७ देखि ३० डिसेम्बर २०१७ सम्मको रहेको र नेपाल भारतबीचको सन् १९५० को सन्धिसँग सम्बन्धित विषयबारे रिसर्च गर्ने भनिएको छ । प्रोजेक्ट संयोजकमा भट्टराईले गीता गौतमको नाम राखेका छन् । रकम आफ्नै हस्ताक्षरमा बुझेका छन् । फ्रान्स केन्द्रित खोजमुलक पत्रकारिता गर्दै आएका रोल्यान्ड ज्याकर्डले नेपालः द न्यु चाइनाज स्याटलाइट स्टेर शिर्षकमा एक्स्क्लुसिभ भन्दै सार्वजनिक गरेको समाचारमा नेपालमा चीनले विस्तारवादी नीति अनुसार यस्ता कार्यहरु गर्दै आएको आरोप समेत लगाएको छ । चीनको राज्य नियन्त्रित कम्पनिहरुले नेपालमा धमाधम ठेक्का पाइरेको विषय पनि उल्लेख गरेका छन् ।

नेपालस्थित चिनियाँ राजदूतावासले नेपालको राज्य संयन्त्रमा आफ्ना बफादारहरु धमाधम तयार गरेको आरोप लगाएको छ । त्यसका लागि उसले विभिन्न माध्यमले सहयोग गर्ने गरेको ज्याकर्डको समाचारमा उल्लेख छ । यसैलाई जोडेर प्रधानमन्त्रीका विदेश मामला सल्लाहकारले १५ लाख रुपैयाँ रिसर्चका लागि पाएको उल्लेख गरिएको हो । उक्त रकम पाउँदा भट्टराई नेपाल भारत प्रबुद्ध समुहको सदस्य रहेको समेत भनिएको छ ।
यसअघि ज्याकर्डले प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यको स्वीस बैंकमा रकम रहेको भन्दै विवादास्पद समाचार छापेका थिए । उनले चिनियाँ कम्पनिसँग वर्तमान सरकारले गरेका केही ठेक्काहरुको विवरणसहित कमिशनको विषय समेत उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्