काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मङ्गलवार प्रदेश प्रमुख दीपकप्रसाद सापकोटाले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ लिए लगत्तै नवनियुक्त बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त सबै मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
को-को बने मन्त्री ?
मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला, आन्तरिक मामिला, सामाजिक विकास, संस्कृति तथा पर्यटन, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय जिम्मेवारी मधुसुदन पौडेललाई दिइएको छ । किरण थापामगर स्वास्थ्य मन्त्री, कृष्णकुमार तामाङ खानेपानी मन्त्री, जयराम थापा श्रम-रोजगार तथा यातायात मन्त्री, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्री, बिन्दु श्रेष्ठ उद्योग मन्त्री, भरतबहादुर के.सी. वन तथा वातावरण मन्त्री र शिवराज अधिकारीलाई बिनाविभागीय मन्त्री बनाइएको छ ।












