
काठमाडौं । जयपृथ्वी राजमार्ग र जुम्ला–सुर्खेत सडकखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण यी दुबै सडकखण्ड अवरुद्ध भएको हो ।
आज बिहान ६ बजे कालिकोट खाँडाचक्र नगरपालिका–५ बिहानी खोलानजिक जुम्ला सुर्खेत सडकखण्डमा माथिबाट आएको पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै बैतडीस्थित जयपृथ्वी राजमार्ग खोड्पे बझाङ सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।
बिहान ७ बजे बैतडी सिगास गाउँपालिका–९ रमिलापुरस्थित जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे बझाङ सडकखण्डमा पहिरो आएर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।
उनका अनुसार अवरुद्ध दुवै सडक खुलाउने प्रयास भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् ।














