काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताका विषयलाई कांग्रेसले सदैव प्राथमिकतामा राखेको बताएका छन् ।

कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक संवेदनशीलता सामाजिक रूपान्तरणको महत्त्वपूर्ण विषय भएकाले यसलाई पार्टीले समेत प्राथमिकतामा राखेको बताए ।
लैङ्गिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
उनले मुलुकको परिवर्तनपछि बनेको संविधानमा समेत महिलाहरूको समान अधिकारलाई विशेष व्यवस्था गरेकै कारण मुलुकको उच्च तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको जिकिर गरे ।
कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले लैङ्गिक समानता महिलाको मात्रै नभई समग्र सामाजिक रूपमा पछाडि पारिएका समुदायहरूको मुद्दा रहेकाले लैङ्गिक समानतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।














